३ कात्तिक, काठमाडौं । भारतले गरेको नाकाबन्दी खोल्न प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादी एक ठाउँमा उभिने सहमति जनाएका छन् । आइतबार राति अबेरसम्म प्रधानमन्त्री निवासमा बसेको तीन दल बैठकमा तीनै दल एक भएर नाकाबन्दी हटाउन संकल्प प्रस्ताव संसदमा लैजाने निर्णय भएको हो ।
डेढ महिनादेखि निरन्तर भारतले एकपक्षीय रूपमा लगाएको नाकाबन्दी अन्तर्राष्ट्रिय मान्यताविपरीत रहेको भन्दै बैठकले भूपरिवेष्टित राष्ट्रले पाउनुपर्ने सुविधा र दक्षिण एसियामा भारतको असहिष्णु नीतिका बारेमा साझा संकल्प प्रस्ताव तयार गरी संसद्बाट अनुमोदन गराउनुपर्ने निष्कर्ष निकालेको छ ।
संसद्बाट उक्त प्रस्ताव पारित भएपछि नाकाबन्दीबारे औपचारिक रूपमा अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण हुन्छ। बैठकमा प्रधानमन्त्री केपी ओलीले नाकाबन्दी खुलाउन संसद्बाट संकल्प प्रस्ताव पारित गराउन उपयुक्त हुने प्रस्ताव राखेका थिए।
ओलीको प्रस्तावमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले सहमति जनाएका थिए।












