२१ कात्तिक, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा नयाँ जहाज उड्दाउड्दै प्राविधिक समस्या उत्पन्न भएपछि काठमाडौं नै फर्किएको छ ।
निगमले गत वैशाख पहिलो साता खरिद गरी ल्याएको १ सय ५८ सिट क्षमतायुक्त एयरबस ए३२०–२०० सिरिज तथा कलसाइन ु९एन–एकेएक्सु भएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहान ११:३५ बजे हङकङ उडेको थियो । उडेको एक घन्टामै प्राविधिक समस्या उत्पन्न भएपछि यहीँ फर्किएर अवतरण गरेको थियो ।

‘जहाज उडिरहेका बेला पछाडि भागमा गन्ध आएपछि फर्काएर काठमाडौं नै ल्याइयो र प्राविधिक परीक्षण भइरहेको छ’, निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले शनिबार नागरिकसँग भने, ‘एयरबस र हाम्रा इन्जिनियरहरूले कारण पत्ता लगाउने प्रयास गरिरहेका छन् । धेरै समस्या भएको जस्तो लाग्दैन ।’
जहाजमा १ सय २२ यात्रु थिए । काठमाडौंबाट हङकङ चारदेखि साढे चार घन्टा हवाई दुरीमा पर्छ । जहाज अहिले त्रिभुवन विमानस्थलस्थित निगमकै ह्यांगरमा ग्राउन्डेड गरेर प्राविधिक परीक्षण भइरहेको छ । उक्त जहाजमा रहेका यात्रुलाई सकेसम्म जहाज मर्मत गरी त्यसैमा पठाइने वा नसके हङकङकै ड्रागन एयरबाट राति पठाइने निगमले जनाएको छ
निगमको यो जहाज युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको हो । निगमसँग यस्तै अर्को पनि जहाज सञ्चालनमा छ ।











