२० कात्तिक, काठमाडौं । मोदी सरकारले नेपालप्रति गरेको अघोषित नाकाबन्दीको भारतीय चर्चित नेता र कम्युनिष्ट पार्टी मार्क्सवादीले विरोध गरेको छ । माक्र्सवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको कडा आलोचना गरेको छ । मोदी सरकारले नेपालप्रति हेपाहा नीति लिएको सो पार्टीका महासचिव प्रकाश करात र सिताराम यचुरीले बताएका छन् ।
कम्युनिष्ट पार्टीले आफ्नो मुखपत्र ‘पिपुल्स डेमोक्रेसी’मा सम्पादकीय नै लेखेर मोदी र बीजेपीले बिहारको चुनावलाई हेरेर नेपालका मधेसी दलहरुलाई सहयोग गरेको बताएको छ ।
उसले लेखेको छ, ‘नरेन्द्र मोदी र बीजेपीले बिहारको चुनावलाई हेरेर नेपालसँगको सुमधुर सम्बन्ध बिगार्ने गरी मधेसीलाई समर्थन गरेका छन्, जो बिहारको सीमा क्षेत्रमा छन् ।’

‘नेपाललाई चीनतिर जान बाध्य पारिएको छ र चीनबाट एक हजार मेट्रिक टन पेट्रोल ल्याउन सम्झौता भएको छ, भारतको नाकाबन्दीविरुद्ध असन्तुष्टि जनाउन नेपालका परराष्ट्रमन्त्री संयुक्त राष्ट्रसंघ गएका छन् । सार्कका अधिकांश देशले नेपाली जनतामाथि लादिएको नाकाबन्दीबारे चासो व्यक्त गरेका छन्’ सम्पादकीयमा भनिएको छ ।
भारतीय कम्युनिष्ट पार्टी सन् २००४ को चुनावपछि कांग्रेस आईसँगको गठवन्धन सरकारमा सामेल थियो । सो पार्टीका महासचिव प्रकाश करात र नेता सीताराम यचुरी लगायतका नेताले नेपालको शान्ति प्रकृयामा सहजीकरणको भूमिका खेलेका थिए ।











