१९ कात्तिक, काठमाडौं । वैशाखको भूकम्पबाट क्षतिग्रस्त भएका रसुवागढी र तातोपानी नाका पूर्णक्षमतामा सञ्चालमा ल्याइने भएको छ । काठमाडौंमा जारी नेपाल र चीनको भन्सार विभागको उच्चस्तरीय बैठकमा रसुवागढी र तातोपानी नाकालाई पूर्णक्षमतामा सञ्चालनमा ल्याउने सहमति भएको हो ।
मंगलबारदेखि काठमामाडौं भएको दुई देशका भन्सार अधिकारीहरुको उच्चस्तरीय बैठकले नेपाल–चीनतर्फका थप सातवटा नाका पनि व्यावसायिकरुपमा सञ्चालन गर्ने सहमति जुटाएको छ ।

१९ कात्तिक, काठमाडौं । नेपाल र चीनबीच सीमा नाका खुलाउनेलगायतका २० बुँदे सम्झौतामा विहीबार हस्ताक्षर भएको छ । सम्झौताअनुसार नेपाल र चीनबीच जोडिएका थप सात व्यापारिक नाका खोलिने छ । सम्झौता पत्रमा नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक दामोदर रेग्मी र ल्हासा भन्सारका उपमहानिर्देशक लुन चेन वाईले हस्ताक्षर गरेका छन् ।
तीन दिनसम्म चलेको बैठकले दुई नाकालाई पूर्णक्षमतामा चलाई अन्य सात नाकालाई यथाशिघ्र खोल्नका लागि मिलेर काम थाल्ने सहमति जनाएका हुन् ।
यसअघि चीनसँग जोडिएको चल्तीको नाका तातोपानी मात्रै थियो । रसुवागढी नाका भने भारतको नाकाबन्दीपछि चीनले दिएको अनुदानको तेल ल्याउनेबेलामा चर्चामा आएको हो ।
अब चीनसँग जोडिएका संखुवासभाको किमाथाङ्का, मुस्ताङको करोला, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, हुम्लाको यारी, दोलखाको लामाबगर र मुगु नाकामा भन्सार स्थापना गरिने छ । त्यसबाहेक सिन्धुपाल्चोकको लार्चा र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाह स्थापना गरिने छ ।
नेपालमा भूकम्पले पुर्याएको भौतिक संरचना क्षतिको पुनर्निर्माणलाई तिव्रता दिने सम्झौता पनि चीनसँग भएको छ ।











