१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार मन्त्रिपरिषद बिस्तार गर्ने भएका छन् ।
त्यसमा एमालेबाट भीम रावल उपप्रधान तथा शहरी विकास, विष्णु पौडेल अर्थ र आनन्द पोखरेल पर्यटन छन् । त्यस्तै, शेरधन राई संचारमन्त्री हुने भएका छन् भने अष्टलक्ष्मी शाक्य समेत मन्त्री हुने भएकी छिन् । रावलले पाउने भनी दावी गरिएको रक्षा मन्त्रालयको भने टुंगो लागेको छैन ।

एमालेका साथै अन्य पार्टीका समेत गरी मन्त्रीपरिषद् बिस्तार हुन लागेको हो । अहिले ४.३० बजे शीतल निवासमा नयाँ मन्त्रीहरुलाई राष्ट्रपतिले सपथग्रहण गराउने कार्यक्रम छ । एमालेका मन्त्रीसहित राप्रपा नेपालका थप मन्त्रीले पनि आजै सपथ लिने भएका छन् । जसमा राप्रपा नेपालकातर्फबाट राज्यमन्त्री बढी थपिने जनाइएको छ । कमल थापा स्वयम्ले स्थानीय विकास मन्त्रालयको जिम्मा लिने र काम गर्न राज्यमन्त्रीका रुपमा कुन्ती शाहीलाई दिने तयारी गरेका छन् ।










