१९ कात्तिक, काठमाडौं । मन्त्रीको भागवण्डामा देखिएको एमालेभित्रको तीव्र विवादकै बीच आज साँझसम्म नयाँ मन्त्रीको टुंगो लगाउने तयारी प्रधानमन्त्री केपी ओलीले गरेका छन् । त्यही तयारीस्वरुप ओलीले आज नेता माधव नेपालसँग वालुवाटरमा छलफल गरेका छन् । नयाँ मन्त्रीहरुलाई वुधबार नै सपथ गराउने तयारीमा ओली लागेका थिए । तर जनजाति सभासद् तथा माधव नेपाल पक्षले तीव्र असन्तुष्टी जनाएको समाचार आएपछि ओली रोकिएका थिए । आज नेता नेपालको परामर्श लिएर मात्रै नयाँ मन्त्रीको सपथ गराउने तयारीमा ओली पुगेका हुन् ।
स्थायी कमिटीले तय गरेको मापदण्डअनुरुप मन्त्री बनाउने व्यक्तिबारे ओलीले नेपालसँग छलफल गर्न लागेको स्रोतले जनाएको छ ।
पार्टीमा सन्तुलन मिलाउन र सबैलाई न्याय गर्ने आफ्नो बचनअनुसार ओलीले मन्त्री तय
गर्नुअघि पार्टीभित्रका आफ्ना प्रतिद्धन्द्धी नेपालसँग अन्तिम छलफल गर्न लागेको स्रोतले जनाएको छ ।
नेताहरुसँग आवश्यक परामर्शपछि आजै मन्त्रीहरुको टुंगो लाग्ने सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । मन्त्रालयमा सहमति जुटाउन सत्तापक्षका नेताहरुले आजै बालुवाटारमा छलफल गर्दैछन् ।
एमालेले पाउने ८ मन्त्रीमध्ये ३ जना नियुक्त भइसकेका छन् । बाँकी ५ मन्त्री र केही राज्यमन्त्रीहरुको टुंगो लगाउने जिम्मा स्थायी कमिटीले प्रधानमन्त्रीले ओलीलाई दिएको थियो । यसअघि ओलीले अग्नि खरेललाई मन्त्री बनाएकोमा स्थायी कमिटीमा उनको तीव्र विरोध भएको थियो ।












