१९ कात्तिक, विराटनगर । दुई देशबीचको सम्झौता उल्लंघन गर्दै नेपालभारत सीमामा पर्ने जोगबनीस्थित दसगजा क्षेत्रभित्र भारतीय सीमा सुरक्षा बल एसएसबीले क्याम्प खडा गरेको छ। एसएसबीले बल मिच्याइँ गरेर क्याम्प खडा गरेको हो।एसएसबीले पाँच दिनअघि अस्थायी क्याम्प खडा गरेर कामकारबाही सञ्चालन गर्दै आएको छ।
त्यसलाई फिर्ता पठाउन नेपाली पक्षले पनि पहल गर्न सकेको छैन। सीमाको दसगजा क्षेत्रलाई दुवै देशले प्रयोग गर्न मिल्दैन। त्यहाँ भौतिक संरचना निर्माण गर्न पनि पाइँदैन।
दुई देशको सिमाना छुट्याउन गाडिएको पिलर छेउमै एसएसबीले क्याम्प खडा गरेको हो। दसगजाभित्र पर्ने विराटनगरबाट जोगबनी प्रवेशका लागि बनाइएको गेटदेखि भित्रपट्टि टेन्ट टाँगेर क्याम्प बनाइएको छ।
एसएसबीको क्याम्प र नेपाली भूभागमा गाडिएको पिलरको दूरी दुई मिटरमात्रै छ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनका क्रममा त्यहीं दसगजा क्षेत्रमा प्रवेश गरेर प्रदर्शनकारीले नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने गरेका थिए।

दसगजा क्षेत्रमा राखिएका फलफूललगायतका फुटपाथ पसलको आडमा मोर्चाका कार्यकर्ताले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि भारतीय सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मीको समन्वयमा त्यस्ता पसल हटाइएको थियो। त्यही ठाउँ ओगटेर एसएसबीले क्याम्प खडा गरेको नेपाल प्रहरीले जनाएको छ।
दसगजा क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउने विषयमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच विराटनगरमा दुईपटक बैठक बसेर सहमति भएको थियो । गत वर्ष माघ र कात्तिकमा भएको सहमति कार्यान्वयनमा आउन नसकिरहेका बेला एसएसबीले क्याम्प खडा गरेर उल्टै हेपाहा प्रवृत्ति प्रदर्शन गरेको हो।
यस विषयमा नेपाल प्रहरीका अधिकारीले कुरा राखे पनि एसएसबीका अधिकारीले खासै चासो दिएका छैनन्।
प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भने दसगजा क्षेत्रमा निर्माण गरिएको अस्थायी क्याम्पका बारेमा आफूलाई जानकारी नभएको बताए ।











