१८ कात्तिक, काठमाडौं । आफ्नै पार्टीभित्रको तीव्र विवादकाबीच एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आज मन्त्रीमण्डल विस्तार गर्दैछन् । आफ्नो दलबाट सरकारमा सहभागी हुने मन्त्रीहरुका लागि आज दिउँसो १ बजेपछि सपथ ग्रहण गराइँदै छ । यद्यपि प्रधानमन्त्रीको सचिवालयले भने यो कुरा गोप्य राखेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले नयाँ मन्त्रीको सपथ आज हुन सक्ने सम्भावना प्रवल रहेको बताए ।
तर नयाँ मन्त्रीको सपथ लिन तम्तयार भएर बसेका मानन्धर थरका एमाले सांसदले आज एक बजे सपथ हुने जानकारी नेपालदेश डटकमलाई दिए । मन्त्री र राज्यमन्त्री पद पाइने आशामा बसेका केही नेता भने ओलीको एकलौटी निर्णयका कारण निराश भएर जिल्ला फकिएको छन् । राज्यमन्त्री बन्ने सूचीमा रहेका एमाले सांसद यज्ञराज सुनुवारले सरकार विस्तारमा युवाहरुलाई बेवास्ता गरेको भन्दै असन्तुष्टी जनाए – ‘ठूला नेताका नजिकका मन्त्रीले सपथ लिइरहून् मचाहिँ ओखलढुङ्गा जान बसपार्कमा आइपुगेको छु ।’
एमाले स्थायी कमिटीले पनि नयाँ मन्त्रीको टुंगो लगाउन नसकेपछि अध्यक्ष ओलीले अन्तिममा एकलौटी निर्णय गर्न लागेको एमाले स्रोत बताउँछ । विद्या भण्डारीलाई राष्ट्रपति निर्वाचनमा भोट नहालेको भन्दै झलनाथ खनालका व्यक्ति पन्छाउने योजना ओलीको छ । त्यस्तै प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै मन्त्री बनाउने भन्दै ओलीले आफू निकट व्यक्तिलाई मात्रै मन्त्री बनाउन लागेको गोप्य स्रोतले बताएको छ ।











