१३ कात्तिक, नवलपरासी । पूर्वगृहराज्य मन्त्री एवंम् नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलमाथि आज नवलपरासीमा गोली हान्ने प्रयास भएको छ । भारतीय आक्रमणकारीहरुले जिल्लाको बडहरादुवैलीया ३ स्थित ललितपुर गाउँमा स्थानीय शद्धिक कुजडाको घर अगाडि कँडेलमाथि आक्रमणको प्रयास गरेका थिए ।
आफ्नो खेतीवाली हेर्न ललितपुर पुगेका कँडेललाई मोटरसाईकलमा आएका भारतीय समुहमध्ये एक जनाले पछाडिबाट पेस्तोल ताकी आक्रमणको प्रयास गरेको थिए ।

भारत महाराजगञ्ज ठुठीबारी निवासी उज्जल सिंहले पेस्तोल ताकेपछि स्वयंम् कँडेल र कँडेलका अङ्गरक्षक प्रहरी नायव निरीक्षक दिपक घिमिरेले संयुक्त रुपमा सिंहलाई प्रतिकार गरेका थिए । आक्रमणको प्रयास गर्ने मुख्य नाईके सिंहसहित भारत महाराजगन्ज राजाबारीका जोगेन्द्र पासवानलाई स्थानियबासीको सहयोगमा प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

आक्रमणको प्रयास गर्ने मध्येका २ जनालाई ६ राउण्ड गोली र लोड भएको पेस्तोलसहित नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक नल प्रसाद उपाध्यायले जानकारी दिए । कँडेल नेपाली कांग्रेस नवलपरासीका जिल्ला सभापति समेत हुन् । आक्रमण प्रयाय गर्ने अन्य २ जना फरार छन् । पक्राउ परेका सिंह कँडेलको टाढाको नातेदार रहेको बुझिएको छ ।
कँडेलमाथि यस अगावै माओवादी द्वन्द्वकालमा समेत काठमाण्डौंमा आक्रमणको प्रयास भएको थियो । द्वन्द्वकालमा गोली लागेका कँडेलको शरीरमा अझै पनि एक गोली शरीरबाट झिक्न बाँकी छ ।











