१२ कात्तिक, काठमाडौं । नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा भण्डारीले प्रधानन्यायधीश कल्याण श्रेष्ठसँग सपथ लिएकी हुन् । भण्डारीको सपथ ग्रहण समारोहमा निर्वतमान् राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु, सुरक्षा अंगका प्रमुख, कुटनीतिक निकायका प्रमुखहरु सहभागी थिए ।

उनले ईश्वर, देश र जनताको नाममा सपथ लिइन् । सपथलगतै निवर्तमा राष्ट्रपति रामवरण यादवले नयाँ राष्ट्रपति भण्डारीलाई राष्ट्रपतिको कुर्सी हस्तान्तरण गरेका थिए ।
कुर्सी हस्तान्तरणपछि यादव समारोहबाट विदा भएका थिए । भण्डारीले निवर्तमान राष्ट्रपति यादवलाई उठेर विदाई गरेकी थिइन्। लगतै नेपाली सेनाले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई सम्मान गारत अर्पण गरेको थियो ।
सपथ ग्रहणसँगै आजै राष्ट्रपतिको पदभार समेत हस्तान्तरण भएको छ भने भण्डारी औपचारिक रुपले संघीय गणतन्त्र नेपालको राष्ट्रपति बनेकी छिन् ।











