१२ कात्तिक, काठमाडौं । पेट्रोलियम पदार्थको कालोबजारी बढेसँगै जनताले हरेक क्षेत्रमा चरम शोषण सहनु परेको छ । सबैभन्दा बढी शोषण यतिवेला जनताले सार्वजनिक यातायातमा सहनुपरेको छ । यात्रुवसले दुई गुणा बढी भाडा लिएका छन् भने राजधानीमा गुड्ने ट्याक्सीले तीन गुणा बढी भाडा असुलेका छन् । तर प्रहरी भने रमिते बनेको छ ।
रौतहटबाट दशैं मनाएर काठमाडौं फर्केका हर्क घलानले भने बसले सामान्य समयको भन्दा दुई गुणाभन्दा बढी भाडा लियो । त्यस्तै स्याङ्जाबाट दशैं मनाएर फर्केका लक्ष्मण चापागाई पनि यस्तै गुनासो गरे । दोब्बर भाडा तिरेर यात्रा गर्न बाध्य भएको उनले बताए ।
दोब्बर भाडा तिरेर राजधानी छिरेका सर्वसाधारण त्यतिवेला झन् शोषित हुन्छन् जब ट्याक्सीले चर्को भाडा लिनका लागि कलंकी र नयाँ वसपार्कमा बार्गेनिङ गर्छन् । बस र माइक्रो अत्यन्त न्युन मात्रै चलेको अवस्थामा तिनमा झुण्डिएर यात्रा गर्न नसक्ने यात्रुहरु ट्याक्सी लिन बाध्य छन् ।
घरबाट फकिँदा ल्याएका केही खानेकुराका झोला, बालबच्च काखमा हुन्छन् नै र कसैकसैले त ग्यासका सिलिण्डर समेत उतैबाट लिएर राजधानी भित्रिएका छन् । उनीहरु जति पैसा भने पनि ट्याक्सीलाई तिर्न बाध्य छन् ।
कलङ्कीमा खडा भएका ट्याक्सी चालकले पहिले नै भन्छन् अलि महंगो पर्छ भनेर । तर उनीहरु कलंकीबाट नयाँ वानेश्वर आउनका लागि १ हजारभन्दा कममा आउन चाहँदैनन् । जबकि सरकारले यो दूरिका लागि ३५० रुपैयाँ तोकेको छ । नयाँ वसपार्कबाट नयाँ वानेश्वर क्षेत्रमा आउनका लागि १५०० रुपैयाँ लिने गरेका ट्याक्सीहरुले ।
एक ट्याक्सी चालक भन्छन् – ‘हामीले नै ५०० रुपैयाँ लिटरमा व्ल्याकमा पेट्रोल किनेका छौं । त्यसैले भाडा त धेरै लिनै पर्यो नि ।’ नाम बताउन नचाहने उनले भने- ‘मैले त कलंकीबाट ८० लिटर पेट्रोल ४०० को दरमा किनेको हुँ । खुल्लै बेचिएको थियो । अहिले भने अलि कडा भएको छ ।’ बाँकेको शमशेरगंजमा बस जल्नाले बाहिरबाट पेट्रोल आउन कडाइ भएको उनले बुझेका छन् ।














