यतिवेला देशलाई चौतर्फी संकट परेको छ । भूकम्पदेखि नाकाबन्दीको मार नेपाली जनतालाई परेको वेला वर्षभरि खाने अन्नवाली भित्र्याउने वेला झरीले धान कुहाइदिने भएको छ । हाल देशभर धान वाली भित्र्याउने माचो चलेको छ । तर काटेर निहिन लगाएका धान अचानक सुरु भएको झरीले कुहिने सम्भावना देखिएको छ । पानी चाहिने समय अर्थात् वर्षा याममा खडेरी परेकाले यसल्टको धानवाली राम्रो हुन सकेको छैन । नफस्टाएको धान नै काटेर भए पनि भित्र्याउने तयारी गरेका किसानहरु यतिवेला चिन्तित बनेका छन् ।
वुधबार साँझदेखि देशभर झरी परेको छ । राजधानी काठमाडौं लगायत देशका अधिकांश भागमा परेको पानीले खेतमै निहिनका रुपमा सुकाएको धान कुहिने छ । पहाडी भेगदेखि तराईसम्म नै विहीबार विहानैदेखि झरी परेको छ । यो झरीले धान कुहेमा अन्नवालीमा समेत नेपाल यो वर्ष परनिर्भर हुनुपर्ने जोखिम बढ्ने छ ।












