१२ कात्तिक, काठमाडौं । मधेशका केही जिल्लामा आन्दोलनरत मधेशी मोर्चासँग आज सरकारले वार्ता गर्दै छ । विभिन्न चरणमा भएका अनौपचारिक छलफलपछि आज मोर्चासँग वार्ता हुन लागेको हो । संविधान संशोधन गरेर मोर्चाका माग सम्बोधन गर्ने विषयमा वार्ता केन्द्रित हुने छ । तर मोर्चामा संलग्न दलका नेताहरु सहमति गर्ने पक्षमा नदेखिएका कारण वार्ताले सकारात्मक परिणाम दिने सम्भावना न्युन रहेको सरकारमा संलग्न एक मन्त्रीले प्रतिक्रिया दिएका छन् ।
मधेशी नेताहरुलाई भने आन्दोलन निल्नु न ओकल्नु भएकोले अब के गर्ने भन्ने समस्या परेको बताइन्छ । चीनले पेट्रोलियम दिने भएपछि भारतको इसारामा भएको नाकाबन्दी समेत प्रभावहीन हुने भएपछि मधेशी नेताहरु समस्यामा परेका हुन् । अर्कोतर्फ व्यापारीहरुले नै बन्दको प्रतिकार गरेपछि मधेश बन्द संकटमा परेको छ । अस्पतालमा अक्सिजन सकिएर विरामी मर्ने अवस्थामा पुग्दा समेत बन्दमा रमाएका मधेशी नेता अपराधी करार हुने सम्भावना बढेकोले उनीहरु केही डराएको मधेशी दलकै नेताहरु बताउँछन् । विद्यालय बन्द हुँदा विद्यार्थीहरुले पढ्न नपाएर समस्या परेको गरिब मजदुरहरुको रोजीरोटी नै गुमेको अवस्थामा झनै जनताबाट आफूहरु नाङ्गिने भएपछि मधेशी नेताहरुले अब आन्दोलनको स्वरुप फेर्न लागेका छन् ।
७५ दिनदेखि आमहड्ताल गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शनिबारबाट आन्दोलनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । त्यसो त प्रधानमन्त्रीको निर्वाचनमा भोट हालेर मन्त्री पद खान आन्दोलन नै छाडेर दौडेका मधेशी नेताहरु अहिलेसम्म आन्दोलनस्थलमा पुग्न सकेका छैनन् । उनीहरुलाई जनताले नै लखेटेको हुनाले उनीहरुले आन्दोलनको स्वरुप बदलेर आन्दोलनको नेतृत्व लिएको दावी गर्ने कोसिसमा रहेको एक मधेश विश्लेषकको ठम्याइ छ ।












