११ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले आफ्नो कारण चीनबाट पेट्रोल ल्याउन ढिलाई नभएको दावी गरेको छ । चीनले दिएको अनुदानको पेट्रोल लिन पठाउने विषयमा निगमले ढिलासुस्ती गरेको समाचार आएको विषयमा खण्डन गर्दै निगमले प्रष्टिकरण दिएको हो । चीनमा तेल लिन जानका लागि सबै ट्यांकर टुंगो लगाएर तयारी अवस्थामा राखिएको निगमले जनाएको छ ।
ट्यांकर चीन जान तयारी अवस्थामा रहेको निगम प्रवक्ता दीपक बरालले जानकारी दिएका छन् । निगमले ४० वटा ट्यांकर चीनको केरुङ पठाउन लागेको छ । त्यसका लागि सबै कागजी प्रक्रिया र तयारी सकिएको समेत जनाइएको छ ।
सबै ट्यांकरका कागजात तयार पारेर चीनलाई बुझाउनुपर्ने सबै कागजात पनि बुझाएका प्रवक्ता बरालले जानकारी दिएका छन् । चीनले औपचारिक रुपमा जानकारी गराउनासाथ ट्यांकर केरुङ पठाउने उनले बताए । अहिलेसम्म चिनियाँ पक्षले ट्यांकर हिँडाउन आग्रह नगरेको समेत वरालले बताए ।

रसुवागढी पुग्ने सडकको अवस्था हेरेर १२ हजार लिटर क्षमताका ट्यांकरहरु पठाइने भएको छ । निगमले चीनले दिने अनुदानको तेल सबै एकैपटक नल्याइने स्पष्ट गरेको छ । दिनमा २५ वटा ट्यांकरले केरुङबाट ढुवानी गर्नेछन् । सबै तेल ल्याउन १२ हजार लिटर क्षमताका ट्यांकर मार्फत ढुवानी गर्दा झण्डै १ सय १० ट्यांकर हुनेछ । चीनले १३ लाख लिटर तेल अनुदानमा दिँदैछ ।
चीनले केरुङमा ट्यांकरमार्फत तेल दिन लागेको छ । त्यसैकारण नेपालबाट जाने ट्यांकर र तेल लिएर आउने चिनियाँ ट्यांकर एकैपटक केरुङ आइपुग्ने गरी यहाँबाट ट्यांकर पठाउने निगमको तयारी छ ।











