१० कात्तिक, वीरगंज । नेपाली जनतामारा दलालहरुले फेरि चीनको विरोध गर्न थालेका छन् । भारतबाट इन्धन र अक्सिजन आउन नदिएर नेपाली जनतालाई मृत्युको मुखमा धकेल्न लागि परेका दलालहरुले चीनको झण्डा जलाएको धेरै समय नहुँदै चीन विरोधी प्रदर्शन थालेका छन् ।
चीनले नेपालका लागि इन्धन अनुदान दिने भएपछि भारतको इसारामा नेपाली जनतालाई तडपाइरहेका राष्ट्रघाती दलालहरु अत्तालिएर प्रदर्शन गरेका हुन् ।उनीहरुले मधेस आन्दोलन विरोधी गतिविधि गरेको भन्दै मंगलबार वीरगन्जमा चीनको विरोधमा प्रदर्शन गरे ।
‘ब्याक अफ चाइना’ भन्दै स्थानीय युवा तथा विभिन्न मधेशकेन्द्रित दलका स्थानीय कार्यकर्ताले विरोध र्याली निकालेका थिए । चीनले आन्दोलन तुहाउनका लागि बिना कुनै सम्झौता नेपाललाई तेल दिन लागेको उनीहरूले आरोप लगाएका छन् । तर विना कुनै आधार नाकाबन्दी लगाएको भारतको विषयमा भने उनीहरुले कहिल्यै विरोध गरेका छैनन् । मधेश आन्दोलनका नाउँमा भएको यस्तो गतिविधिले मधेश आन्दोलन अधिकारका लागि नभएर भारतकै योजनाअनुसार भएको अझ प्रष्ट भएको छ ।
मंगलबार निकालिएको र्याली वीरगन्जको घन्टाघरबाट मेनरोड, अलखिया मठ हुँदै पुनः घन्टाघर मै आएर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्ने सबै वक्ताले चीनको विरोध गरे ।
कोणसभालाई युवा नेता ओम प्रकाश सरार्फ, इमदाद गदी, ईश्वरचन्द्र यादव, जगदीश पटेल, रमेश गुप्ता, जटाशंकर गिरी लगायतले सम्बोधन गर्दै नेपाली जनतालाई गरेको सहयोग फिर्ता गर्न धम्की समेत दिएका थिए ।











