१० कात्तिक, काठमाडौं । नयाँ संविधानको प्रावधानअनुसार प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएका मधेसकेन्द्रित दलहरुले राष्ट्रपति निर्वाचनमा भने सहभागिता नजनाउने बताएका छन् । काठमाडौंमा आज आयोजित साक्षात्कारमा बोल्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बार्ता टोलीका सदस्य एवम सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले राष्ट्रपति निर्वाचनमा आफूहरु सहभागी नहुने बताएका हुन् । केपी शर्मा ओली मधेसविरोधी भएको आरोप लगाउँदै कर्णले उनलाई परास्त गर्न मात्रै प्रधानमन्त्री निर्वाचनमा मत हाल्न आफूहरु गएको बताए । उनले ओलीलाई मधेसविरुद्ध विष ओकल्ने व्यक्ति भनी आरोप लगाए । ओलीलाई मधेसविरोधी भन्ने कर्णले ओलीले नै उम्मेदवार बनाएकी विद्या भण्डारीविरुद्ध मत हाल्न किन नजाने भनी सोधिएको प्रश्नको भने जवाफ दिन सकेनन् ।
उनले राष्ट्रपति पदमा आफूहरुको उम्मेदवार नभएको र अरु दलले पनि आफूहरुसँग कुनै प्रस्ताव नराखेकोले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने जानकारी दिए ।
वर्तमान सरकारलाई घुडा नटेकाई आन्दोलन नरोक्ने चेतावनी दिंदै कर्णले यस्तै अवस्था रहे आगामि पन्ध्र दिनभन्दा बढी यो सरकार नटिक्ने धम्की समेत दिए ।
कर्णले मुलुकमा आपूर्ति ब्यवस्था सहज बनाउने, शान्ति सुरक्षा कायम गर्ने दायित्व सरकारको भएपनि यसमा सरकार पूर्ण रुपमा असफल भएको भन्दै यस्तो अवस्थामा कि आन्दोलनका माग संबोधन कि सत्ता छाड्नु पर्ने अवस्था आएको बताए ।











