१० कात्तिक, काठमाडौं । बुधबार हुने राष्ट्रपति चुनावमा तीन जनाले राष्ट्रपतिको उम्मेद्वारी दर्ता गराएकोमा १ जनाले फिर्ता लिएपछि अब दुई जनाबीच प्रतिश्पर्धा हुने भएको छ । एमाले उपाध्यक्ष विद्या भण्डारी, नेपाल मजदुर किसान पार्टीका नारायण महर्जन र नेपाली कांग्रेसका कुलबहादुर गुरूङले उम्मेद्वारी दर्ता गराए पनि महर्जनले उम्मेदवारी फिर्ता लिएका हुन्।।
भण्डारीले पहिलो नम्बरमा उम्मेद्वारी दर्ता गराएकी छन्। व्यवस्थापिका–संसद् सचिवालय, निर्वाचन अधिकृतको कार्यालयमा अपराह्न १२ बजेर ५ मिनेट जाँदा सो उम्मेदवारी दर्ता गरिएको हो । भण्डारीका प्रस्तावकमा एकीकृत नेकपा माओवादी का अध्यक्ष पुष्पकमल दाहाल छन् ।

त्यस्तै समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का सांसद योगेन्द्र चौधरी, नेकपा(माले)का महासचिव सिपी मैनाली, बहुजनशक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(संयुक्त)का सांसद जयदेव जोशी, राप्रपा संसदीय दलका नेता दीपक बोहरा, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)का सांसद शिवलाल थापा, नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशी, नेपाल परिवार दलका सांसद एकनाथ ढकाल छन् ।
यसअघि एमालेको सोमबार बसेको स्थायी समितिको बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
नेपाली कांग्रेसको तर्फबाट राष्ट्रपतिका लागि कुलबहादुर गुरुङको उम्मेदवारी दर्ता भएको छ । गुरुङको प्रस्तावक प्रकाशमान सिंह र समर्थक कृष्ण सिटौला रहेका छन् ।
सहमतिका आधारमा राष्ट्राध्यक्ष चयन हुन नसकेपछि दलहरुले बहुमतीय प्रक्रियाका आधारमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएका हुन्।











