९ कात्तिक, काठमाडौं । नेपालका लागि चीनले दिने १० हजार मेट्रिक टन अर्थात १३ लाख लिटर अनुदान पेट्रोलियम पदार्थ बुधबारसम्म रसुवागढी आइपुग्ने भएको छ। रसुवागढीसम्म नै चिनियाँ पक्षले इन्धन ल्याई पेट्रोलियम पदार्थ नेपाली ट्याङ्करमा भरिदिने बताएको छ।
दैनिक २५ वटा नेपाली ट्याङ्करले रसुवागढीबाट अनुदानको इन्धन बोकी काठमाडौँस्थित केन्द्रीय भण्डारणमा पुर्याउने वाणिज्य विभागमार्फत जानकारी पाएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए।
भूकम्पपछि चिनियाँ भू–भागमा बिग्रिएका सडक मर्मतसम्भार र पुनःनिर्माण गरी केही दिनदेखि सञ्चालनमा ल्याइएको छ।
रसुवागढी नाका पूर्णरुपले सञ्चालनमा आउने भएपछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मले आफ्नो सुरक्षाफौज टिमुरेमा तैनाथ गरी यथेष्ट सुरक्षा व्यवस्था मिलाइसकिएको सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दर्शन गिरीले बताए।
राजस्व सङ्कलनमा पूर्ण रुपले सहयोग गर्दै सीमाको सुरक्षा र सीमा क्षेत्रमा हुने अवैध गतिविधि रोक्ने प्रतिबद्धता उनले व्यक्त गरे।
यसैबीच, चीनबाट अन्य उपभोग्य सामान आयातका लागि १३ जना व्यापारी र स्थानीयबासिन्दा हिजो अपराह्न अध्यागमनको अनुमतिबाट केरुङतर्फ प्रस्थान गरिसकेका छन्।












