९ कात्तिक, काठमाडौं । जनयुद्धको उद्गम थलो रोल्पाको थवाङमा दोस्रो संविधान सभामा शून्य मतदान गरी उद्गम थलोबाट बहिष्कृत एमाओवादीभित्र रोल्पाली मगरको हावी भएपछि हंगामा भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले पहिलो संविधान सभामा रोल्पाबाटै विजय प्राप्त गरे पनि फेरि फर्केर रोल्पा नगएको यथार्थ ताजै रहेका अवस्थामा रोल्पा र मगरको नाममा अवसरको फाइदा उठाउने क्रियाकलाप तीव्र भएको भन्दै एमाओवादीभित्र तीव्र अन्तरविरोध भएको छ ।
सोमबार बसेको एमाओवादी स्थायी समिति बैठकमा नन्दकिशोर पुन पासाङले आफू उपराष्ट्रपति बन्न पाउनुपर्ने बताएपछि समस्या उत्पन्न भएको थियो । अध्यक्ष प्रचण्ड र महासचिव कृष्णबहादुर महराले पासाङको विरोध गर्न नसके पनि पूर्वी नेपालमा पार्टीको अस्तित्व नामेट पार्न नहुने भन्दै किरात समुदायलाई समेट्नुपर्ने बताएका थिए । किरात समुदायलाई समेट्नुपर्ने भन्दै उनीहरुले गोपाल किरातीको नाम समेत प्रस्ताव गरेको बुझिएको छ । महरा भने आफूलाई रोल्पाबाट जिताउनका लागि सहयोग गर्ने पासाङको पक्षमा बढी लचक देखिएको स्रोत बताउँछ । तर एमाओवादी स्थायी समितिका अधिकांश सदस्यहरु पार्टीभित्रको सम्भ्रान्त जीवसशैलीका विरोधी किरातीलाई उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा उभिएका थिए ।
आफूलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने दावी गर्ने पासाङ संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापासँग पराजित व्यक्ति हुन् । उता स्थायी कमिटीमा बुहुमत सदस्यले प्रस्ताव गरेका गोपाल किराती पनि एमाले अध्यक्ष केपी ओलीसँग झापा ७ बाट पराजित भएका हुन् ।












