एमाले अध्यक्ष केपी ओलीकी अति निकट मानिने पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई नै राष्ट्रपति बनाउनुपर्ने भएकै कारण एमालेलाई नै राष्ट्रपति पद दिन ओली आग्रह गरे पनि एमाओवादी, फोरम लोकतान्त्रिक र एमालेकै अन्य नेताले यो कुरालाई अस्वकार गरेका छन् । ओलीको प्रधानमन्त्री बन्ने ईच्छा पूरा भए पनि उनले एकपछि अर्को ईच्छा अगाडि सारेका कारण एमालेका अन्य नेता, एमाओवादी र फोरम लोकतान्त्रिक ओलीप्रति नकारात्मक बन्ने संकेत देखाएका छन् ।
ओली प्रधानमन्त्री र विद्या भण्डारी राष्ट्रपति बन्ने अवस्था आयो भने एक पार्टीको एकाधिकार हुने मात्र होइन एक विचार समूहको मात्रै राज्य हुने ठान्दै एमालेका अधिकांश नेतासहित अन्य सत्ता साझेदारहरु ओलीको विरुद्धमा उभिएका हुन् ।
यस्तै विवादका कारण राष्ट्रपति एवं सभामुखलगायतका महत्वपूर्ण पद तथा मन्त्री छनोट सम्बन्धमा दलहरुको आन्तरिक छलफल निश्कर्षमा बुधबार पनि पुग्न सकेको छैन।
राष्ट्रपति, उपराष्ट्रपति, सभामुख तथा उपसभामुख पदमा पनि सत्ता गठबन्धनमा सहभागी दलहरुबीच विवाद देखियो।
एमालेका नेताहरु दिनभर मन्त्री छनोटका लागि परामर्श गरे पनि टुंगो लगाउन सकेका छैनन्। बेलुका अबेरसम्म पनि नवनिर्वाचित प्रधानमन्त्रीसहित एमालेका वरिष्ठ नेताहरु प्रधानमन्त्री कार्यलय सिंहदरबारमा मन्त्री छनोटको छलफलमा व्यस्त थिए।
पार्टी उपाध्यक्ष भीम रावललाई रक्षासहित उप्रधानमन्त्री बनाउने संभावना छ। अर्थमन्त्री विष्णु पौडेललाई नै बनाउने तयारी छ।तर माधव नेपाल पक्षले सुरेन्द्र पाण्डेलाई अघि सारेका छन्। त्यसैगरी अष्टलक्ष्मी शाक्य, शेरधन राईलगायत मन्त्री बन्ने सूचीमा छन्।
ओलीले राष्ट्रपति पनि एमालेलाई दिनुपर्ने भन्दै विद्या भण्डारीको नाम प्रस्ताव गरेपछि एमाओवादी तथा अन्य सत्तारुढ दलका नेताहरु केही झस्किएका छन्। एमाओवादीलगायत सरकारलाई समर्थन गर्ने दलहरुले प्रधानमन्त्री र राष्ट्रपति एउटै दललाई दिन नहुने बताएका छन्।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिकका विजय गच्छदारले राष्ट्रपति पद कांग्रेसलाई दिएर तीन दलको सहयात्रालाई निरन्तरता दिनुपर्ने र कांग्रेसबाट कमजोरी भए पनि कांग्रेसलाई बाहेक गरेर अघि बढ्न संविधान कार्यान्वयनमा जटिलता आउने विश्लेषण उनीहरुले गरेका छन्।
एमालेभित्रै पनि एकथरी नेताहरु राष्ट्रपति दिएर पनि कांग्रेसलाई सहमतिमा ल्याउनुपर्ने र तीन दलको एकता कायम राख्नुपर्नेमा जोड दिएका छन् । यसमा कांग्रेसका युवा नेताहरु सकारात्मक छन् ।
कांग्रेसका दोस्रो तहका नेताहरुसँग पनि एमाओवादी र एमालेका नेताहरुले अनौपचारिक परामर्श गरिरहेका छन्।
प्रधानमन्त्री निर्वाचनमा कांग्रेसले सहकार्यको राजनीति छाडेको भए पनि उसलाई सबक सिकाउँदै राष्ट्रपति पद दिएर सहमतिको पाठ सिकाउने पक्षमा एमाओवादी तथा माधव नेपाल समूह छ । त्यसैले अब राष्ट्रपति पद कांग्रेसले पाउने देखिएको छ ।












