२७ असोज, काठमाडौं । म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित चार खेलाडी पक्राउ परेका छन् । एक प्रशिक्षक पनि पक्राउ परेका छन् ।
थापासँगै विकाससिंह क्षेत्री, रितेश थापा, सन्दिप राई र प्रतिक्षक अञ्जन केसी पनि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले कप्तान थापालाई बुधबार थापाथली क्षेत्रबाट पक्राउ गरेको हो ।
अन्तराष्ट्रिय फुटबलमा नेपालले लगातार खराव नतिजा हात पारिरहेको बेला कप्तानसहितका खेलाडी म्याच फिक्सिङ खेल मिलेमतोको आरोपमा पक्राउ परेका हुन् ।
पक्राउ परेका मध्ये रितेश विभागीय टीम नेपाल पुलिसका समेत गोलकिपर हुन् । विकास मनाङका र थापा र राई थ्रीस्टारमा आवद्ध छन् । यस्तै केसी थ्रीस्टारका पूर्व प्रशिक्षक हुन् ।
अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालले जानकारी दिएका छन् । राज्यविरुद्ध गरेको अपराध भएका कारण उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । २००९ मा कप्तान भएदेखि सागरले अहिलेसम्म कति रकम मिलेमतोमा कमाए भन्ने तथ्य छिट्टै पत्ता लाग्ने दावी प्रहरीले गरेको छ । उनले र उनका सहयोगीहरुले हालसम्म करोडौं रकम कमाइसकेको दावी गोप्य स्रोतले गरेको छ ।
स्रोतका अनुसार नेपाली खेलाडीहरुले अफगानिस्तानसहितका खेलहरुमा मिलेमतो गरेको देखिएको छ ।
करिब २ महिना अगाडिदेखि उनीहरुमाथि निगरानी थालिएको थियो । सागर २००९ देखि नेपाली टिमका कप्तान छन् । उनी थ्रीस्टार क्लबका पनि कप्तान हुन् । पक्राउ परेका खेलाडीमध्ये सागर र सन्दिप थ्रिस्टारका खेलाडी हुन् । रितेश थापा नेपाल प्रहरीका खेलाडी हुन् । अञ्जन र विकाससिंह थ्रीस्टारका पूर्वखेलाडी हुन् । केही समय अगाडिसम्म अञ्जन थ्रीस्टारका प्रशिक्षक थिए। २०११ मा भएको विश्वकप छनौटदेखि नै नेपाली खेलाडीमाथि खेल मिलेमतोको आशंका गरिँदै आएको थियो । जोर्डनमा भएको विश्वकप छनौटको पहिलो लेगमा नेपाल जोडर्नसँग ९ ० ले पराजित भएको थियो । जबकि काठमाडौंमा भएको दोस्रो लेगमा नेपालले ११ को बराबरी नतिजा निकालेको थियो ।












