२७ असोज, काठमाडौं । नेपालको पर्वतीय पर्यटनको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) को नयाँ नेतृत्व चयन विहीबार हुँदै छ । विहीबार हुने निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा रहेका छन् । सागर पाण्डे र चन्द्रप्रसाद रिजाल टानको अध्यक्षका लागि प्रतिस्पर्धामा छन् । पाण्डे र रिजालका दुई छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा छन् ।
पर्यटनसम्बन्धि विभिन्न सूचकहरुको सर्वेक्षणले भने सागर पाण्डे समूह अगाडि रहेको देखाएका छन् । पर्यटन न्युज डट कम नामक अनलाइन पत्रिकाले गरेको अनलाइन मत सर्वेक्षणमा हालसम्म सागर पाण्डेका पक्षमा ६५ प्रतिशत र चन्द्र रिजालका पक्षमा ३५ प्रतिशत मत देखिएको छ ।
पाण्डेभन्दा रिजाल पछाडि देखिनुमा उनी पर्यटन व्यवसायमा अपरिचित र तीन वर्षअगाडि मात्रै टानमा प्रवेश गरेको आरोप लाग्ने गरेको छ । त्यसमा पनि एमालेका सक्रिय कार्यकर्ता भएका कारण टानमाथि राजनीतिक हस्तक्षेप बढ्ने भन्दै पर्यटन व्यवसायीहरु पाण्डेको पक्षमा देखिएको विश्लेषण गरिएको छ । सागर पाण्डे हिमालयन ग्ल्यासियर टे«किङका संचालक हुनुका साथै अन्य विभिन्न पर्यटन व्यवसायमा संलग्न छन् । पर्यटन क्षेत्रमा लामो समयदेखि परिचित व्यक्तिलाई नेतृत्वमा नपुर्याई राजनीतिक व्यक्तित्व बनाउन टानमा प्रवेश गर्नेप्रति व्यवसायीहरु आक्रोसित बनेको दावी गर्छन् पर्यटनविद् हरिप्रसाद श्रेष्ठ ।
वर्तमान कार्यसमितिका महासचिव समेत रहेका पाण्डेले टानमा रहँदा गरेका कार्यहरुकै आधारमा पनि उनलाई अध्यक्ष बनाउनुपर्ने राय व्यवसायी यदु लामिछानेले बताए ।
चन्द्र रिजाल समूहले भने एमालेका प्रधानमन्त्री भएको लोभ देखाएर भोट बटुल्ने प्रयास गरिरहेको छ । पर्यटन मन्त्रीमा कृपासुर शेर्पाले निरन्तरता पाउने बताउँदै रिजाल समूहले आफ्नो नेतृत्व हुनु आवश्यक भएको दावी गरेको छ । त्यसो त व्यवसायिक समूह भनेर दावी गरेको पाण्डे समूहलाई राजनीतिक रुपले कांग्रेस र एमाओवादीको साथ रहेको बताइन्छ ।

पाण्डे समूहको वरिष्ठ उपाध्यक्षमा निमा शेर्पा, प्रथम उपाध्यक्षमा विद्या हिराचन, द्वितिय उपाध्यक्षमा रिषिप्रसाद नेपाल, महासचिवमा पासाङ शेर्पा, सचिवमा छेटुप तामाङ, कोषाध्यक्षमा लिलाबल्दब दाहाल, सहकोषाध्यक्षमा शंकर पाण्डे रहेका छन् ।
यसैगरी सदस्यहरुमा नकुल देवकोटा, महेश बुढा मगर, पेम्बा शेर्पा ‘संगम’, अर्जुन पाण्डे, रवि भट्ट, राजन प्रसाद ढुंगाना, शिवहरी सापकोटा, हिमाल घले र तारा राना रहेका छन् ।












