२६ असोज, काठमाडौं । तराई मधेसमा आन्दोलन गर्नेमाथि सुशील कोइराला नेतृत्वको सरकारले गोली चलाएको भए पनि उनै कोइरालाका पक्षमा आफूहरुले संसदमा मत हाल्नु ठीक भएको जिकिर मधेसी मोर्चाका नेताहरुले गरेका छन् । कोइराला नेतृत्वको सरकारको तीव्र विरोध गर्दै र कोइरालाको पुत्ला समेत दहन गरेका मधेसकेन्द्रित दलहरुले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै भोट हाल्नु ठीक भएको दावी गरे ।

कोइराला सरकारकै पालामा सुरु भएको मधेस आन्दोलनमा ५० भन्दा बढीको मृत्यु भएकाले उनलाई भोट हाल्नु गद्दारी भएको भन्दै मधेसमै मधेसी मोर्चाको चर्को ओलाचना भएको वेला मधेसी नेताहरुले आफ्नो वचाउ गर्दै भोट हाल्नु ठीक भएको दावी गरेका हुन् ।
मंगलबार बसेको मोर्चाको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफ्नो अधिकार प्रयोग गरेको बताए।
मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले, एमाओवादी र राप्रपा नेपालको सत्ता साझेदारीलाई उग्रवामपन्थीदेखि राजावादी गठवन्धन भएको आरोप लगाउँदै त्यसका विरुद्ध भोट हाल्नु उपयुक्त भएको बताए ।
नयाँ संविधान अनुसार भएको प्रधानमन्त्री चुनावमा भाग लिए पनि मधेसी मोर्चाका नेताहरुले आफूहरुले नयाँ संविधान स्वीकार नगरेको परस्परविरोधी निर्लज्ज अभिव्यक्ति समेत दिए ।
साथै जारी आन्दोलन नरोक्ने समेत बताएका छन् । फोरम अध्यक्ष यादवले भने(‘हामी यो संविधान स्वीकार गर्दैनौं, यो आन्दोलन जारी रहन्छ । अझ बढी सशक्त भएर अघि बढ्छ, र यो आन्दोलन खेर जाँदैन ।’
संविधानमा कमजोरी रहेको प्रमुख दलहरुले समेत स्वीकार गरेको भन्दै उनले भने(‘आन्दोलनले उठाएको न्यायोचित मागलाई संवैधानिक रुपमा वा संशोधन वा पुनर्लेखन नगरेसम्म यो संघर्ष जारी रहन्छ ।’ अन्तरिम संविधान प्राप्त जनताका अधिकार पनि खोसिएको भन्दै यादवले नयाँ संविधानलाई प्रतिगमनकारी संविधानको संज्ञा दिए ।











