२६ असोज, काठमाडौं । नेपालीहरुको महान् चाड दसैं आजबाट सुरु भएको छ । बडा दसैंको पहिलो दिन आज घटस्थापनासँगै दसैं प्रारम्भ भएको हो । आज घटस्थापनाको साइत विहान ११ः२५ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुभसाइतमा घटस्थापना गरी जमरा राखेपछि दसैं विधिवत रुपमा सुरु हुने छ । आजकै दिन राखेका जमरा विजया दशमीको टीकासहित शिरमा लगाउने गरिन्छ ।
घटस्थापनासँगै आजदेखि नवरात्रि सुरु भएको छ । नवरात्रिमा नवदुर्गाको पूजा गरिन्छ । नेपाल र भारतमा भव्यरुपमा दुर्गापूजा गर्ने परम्परा रहेको छ । दसैंको पहिलो दिन घटस्थापनामा शैलपुत्रीको पूजा तथा आराधना गरिन्छ ।
विजया दशमीको शुभ साइत भने कार्तिक ५ गते १०ः५५ मा रहेको छ ।
महान् चाड दसैं प्रारम्भ भएको यस अवसरमा नेपालदेश डट कमका तर्फबाट सबै नेपाली र दसैंमा आस्था राख्ने विश्वभरका मानव समुदायमा हार्दिक शुभकामना !












