२५ असोज, काठमाडौं । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटोजात्रा सम्पन्न भएको छ । राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न भएको हो । ललितपुरको जाउलाखेल चोकमा आज अपरान्ह भोटो जात्रा आयोजना गरिएको थियो । हरेक वर्ष भोटोजात्रा आयोजना गरिने भए पनि यस वर्ष विशेष जात्रा गरिएको हो । यसवर्षको भोटोजात्रा बाह्र वर्षे जात्राअन्तरगतको भोटो जात्रा हो ।

यसैबीच यसवर्ष १२ वर्षको विशेष मेला परेकाले रथमा फूलपाती चढाउने र दर्शन गर्ने दर्शनार्थीको हजारौँको सङ्ख्यामा बिहानैदेखि भीड लागेको थियो ।

भोटो देखाउनको लागि २२ गते रथलाई लगनखेलबाट जावलाखेल लगिएको थियो । गत वैशाख ६ गते रथारोहरण गरी ९ गतेदेखि रथ जात्रा सुरु गरेको भए पनि १२ गतेको भूकम्पका कारण रथमा क्षति पुगेकाले रथ जात्रा स्थगित भएको थियो ।

क्षति भएको रथलाई पुनःनिर्माण गरी गत असोज ४ गते रथारोहण गरी ५ गतेदेखि पुनः दोस्रोपटक रथ जात्रा सुरु भएको थियो ।

यस वर्ष १२ वर्षको मेला परेकाले जावलाखेलपछि बुङ्मतिमा पनि फेरि भोटो देखाइने छ । जावलाखेलमा भोटो देखाएपछि रथलाई बुङ्मती लगिन्छ र रथ बुङ्मती पुरयाएको चौथो दिन पुनः यस वर्षका लागि दोस्रोपटक भोटो देखाएर विधिवत् रुपमा १२ वर्षे रथ जात्राको अन्य हुने गुठी संस्थानले जनाएको छ ।












