२५ असोज, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । तर उनले ईश्वरका नाउँमा सपथ लिएनन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति यादवले सपथ खुवाउने क्रममा ‘ईश्वर र जनताका नाउँमा’ भनी पढेका शब्दको सट्टामा ओलीले ईश्वर शब्द छाडेर ‘र जनताका नाउँमा’ मात्रै भनी उच्चारण गरेका थिए ।

तर ईश्वर मान्ने र हिन्दू राज्यको माग गरेका कमल थापा समेत ओलीको मन्त्रीपरिषद्मा उपप्रधानमन्त्री छन् । थापा र अर्का उपप्रधानमन्त्री विजय गच्छदारले पनि आज राष्ट्रपतिसँग सपथ लिए ।
अन्य मन्त्रीहरु सोमप्रसाद पाण्डे, अग्निप्रसाद खरेल, हरिबोल गजुरेल, सत्यनारायण मण्डल र रामकुमार सुब्बाले पनि सोमबार नै राष्ट्रपतिसँग सपथ लिएका छन् । एमाओवादीको कोटामा परेको अर्को उपप्रधानमन्त्री को बन्ने भन्ने टुंगो लागेको छैन ।











