२४ असोज, काठमाडौं । केपी ओलीलाई भोट हालेमा गोली हानिदिने एमाओवादीका केही मधेसी सांसदलाई धम्की आएको छ ।
एमाओवादी सभासद निशा साहलाई केपी ओलीलाई भोट हालेमा गोली हानिदिने भन्दै अज्ञात व्यक्तिले धम्की दिएको हो ।
मधेसतिरको नम्बरबाट फोन गरेर अज्ञात व्यक्तिले ओलीलाई प्रधानमन्त्रीमा भोट हाले मधेस आएका वेला गोली हान्ने धम्धी दिएको सांसद साहले बताइन् ।
निशालाई जस्तै एमाओवादी सांसद सोनिया यादवलाई पनि ओलीलाई भोट नहाल्न भन्दै फोनमा धम्की आएको उनले बताएकी छिन् ।
धम्की आए पनि एमाओवादीका ८३ जना सांसदले पार्टीको निर्णयअनुसार नै ओलीलाई भोट हाल्ने जनाएका छन् ।
यसैबीच एमाओवादी सभासद्हरुलाई प्रभावित पार्न ३ करोडदेखि ५ करोड रुपैयाँसम्मको अफर आएको समेत एमाओवादीले जनाएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले आफ्ना सभासद्लाई प्रभावित पारेर सुशील कोइरालाका पक्षमा भोट हाल्न रकमको अफर भएको दावी गरेका छन् ।












