२३ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीको चयनपछि अब राष्ट्रपतिमा आफूले दाबी गर्ने संकेत गरेको छ । शनिबार आयोजित एमाओवादी संसदीय दलको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले अब राष्ट्रपतिमा दाबी गर्ने ढोका खुलेको बताए ।
आफू राष्ट्रपति नबन्ने यसअघि नै घोषणा गरेका प्रचण्डले शनिबार संसदीय दलको बैठकमा पात्रको बारेमा कुरा नगरी राष्ट्रपतिका लागि दाबी गर्ने ढोका खुलेको बताएका हुन् ।

उपराष्ट्रपति पहिलेदेखि नै एमाओवादीलाई दिने प्रस्ताव आइरहेको बताउँदै प्रचण्डले नेपाली कांग्रेस सहमतिबाट बाहिरिएको अवस्थामा अब एमाओवादीले पनि राष्ट्रपतिमा दाबी गर्ने बाटो खुलेको बैठकमा बताए ।
यसअघि कांग्रेस सभापति सुशील कोइरालालाई राष्ट्रपति बनाउने एमाले कांग्रेसवीच भद्र सहमति भएकोमा कांग्रेसले त्यसलाई तोडेपछि एमाओवादीले राष्ट्रपतिका दाबी गर्ने संकेत गरेको हो ।
राष्ट्रपति कसलाई बनाउने भन्ने एमाओवादीले टुंगो गरेको छैन । कतिपयले भने माओवादी नेता मोहन वैद्यलाई राष्ट्रपति बनाउनुपर्ने बहस एमाओवादीभित्र थालनी गरेका छन् ।











