२१ असोज, काठमाडौं । दशैंमा घर फर्कने यात्रुहरुका लागि विशेष व्यवस्था गर्न सरकार र यातायात व्यवसायीहरुले गृहकार्य थालेका छन् । डिजेल अभावका कारण लामो दूरिका बसहरु संचालन हुन नसकेको अवस्थामा कसरी दशैंमा सुगम यात्राको व्यवस्था गर्ने भन्ने विषयमा सरकार र व्यवसायीहरुले गृहकार्य सुरु गरेका हुन् । लामो दूरिका बस संचालनका लागि यातायात व्यवस्था विभाग र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघबीच विहीबार छलफल भएको छ । विभाग र महासंघले बनाएको योजनाअनुरुप सहयोग गर्न भन्दै गृहमन्त्रालयलाई समेत आग्रह गरिएको छ । विभाग, महासंघ र गृहमन्त्रलयबीच समेत आज छलफल भएको छ । इन्धनको सहज आपूर्ति भए मात्र सहज यात्रा र भाडाबारे यातायात व्यवस्था विभागले अनुगमन गर्ने जानकारी विभागका निर्देशक वसन्त अधिकारीले नेपालदेश डटकमलाई दिए ।
दशैंमा घर जाने यात्रुहरुका लागि सरकारले विशेष व्यवस्था गर्ने तयारी गरेको भए पनि त्यो प्रयाप्त हुन सक्ने सम्भावना नदेखिएको अधिकारीले बताए । दशैंमा यात्रुको अत्यधिक चाप हुने भएकोले अहिलेदेखि नै गन्तव्यमा लाग्न अधिकारीले यात्रुहरुसँग आग्रह समेत गरे ।
सरकारले उपलब्ध गराएको डिजेललाई अधिकतम सदुपयोग गरेर लामो दूरिका बस संचालन गर्ने जानकारी यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष डोलनाथ खनालले जानकारी दिएका छन् । लामो दूरिमा चल्ने बसहरुका लागि काठमाडौं र देशभरका अन्य स्थानमा समेत डिजेल भर्ने व्यवस्था गर्नुपर्ने खनालले बताए । दशैंमा यातायात संचालन गर्नका लागि सरकारले पेट्रोलियम पदार्थ उपलब्ध गराउने विश्वास समेत खनालले व्यक्त गरे । यातायात व्यवसायी महासंघ, यातायात विभाग र ट्राफिकबीच त्रिपक्षीय समन्वय गरेर दशैंमा बस संचालन गरिने जानकारी समेत खनालले दिए ।











