काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन पुँजीवृद्धिको योजना ल्याए पनि बैंक तथा वित्तीय संस्थाले बोनस र हकप्रदबाट पुँजी बढाउने योजना पेस गरेका छन्।
राष्ट्रबैंकले भदौ मसान्तसम्ममा पुँजीवृद्धिको योजना पेस गर्न निर्देशन दिएको थियो। बैंक तथा वित्तीय संस्थाले पेस गरेको पुँजीवृद्धिको योजनामा मर्जरलाई प्राथमिकता दिइएको छैन। बैंक तथा वित्तीय संस्थाले पेस गरेको पुँजीवृद्धिको योजना अध्ययन गरेपछि मात्र निर्णय लिने मनस्थितीमा राष्ट्रबैंक पुगेको छ।
राष्ट्रबैंकका नियमन विभाग प्रमुख शिवनाथ पाण्डे पुँजीवृद्धिका विभिन्न खालका प्रस्ताव आएको बताउँछन्। ‘पुँजीवृद्धिका लागि मर्जरको प्रस्ताव आएन भन्ने होइन’ , उनले भने, ‘बोनस र हकप्रदबाट मात्र पुँजी नपुग्ने हुँदा मर्जरबाट पुँजी पुग्छ भन्ने हाम्रो आशा छ।’
बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र सञ्चालकले दुई वर्षभित्रमा तोकेको पुँजी पुर्याउन नसक्ने बताए पनि राष्ट्रबैंकले मर्जरबाट तोकेको पुँजी पुग्ने दाबी आएको थियो। मौद्रिक नीतिमा पनि पुँजी बढाउने नीति लगत्तै यसका लागि मर्जरलाई प्रोत्साहन गर्ने उल्लेख छ।
राष्ट्रबैंकमा विवरण पठाउने बैंकमध्ये १५ वटा वाणिज्य बैंकले मर्जरबाट पुँजी पुर्याउने योजना पेस गरेका छन्। एनबी, एभरेस्ट, लुम्बिनी, कुमारी, सिद्धार्थ, प्राइम, सनराइज, एनएमबी, प्रभु, जनता र सिभिल बैंक यो वर्ष मर्जरमा जाने घोषणा गरेका छन्।
एनएमबी बैंकलाई राष्ट्रिय स्तरको क्लिन इनर्जी डेभलपमेन्ट बैंक र क्षेत्रीय स्तरका दुईवटा विकास बैंकसँग मर्जरमा जान राष्ट्रबैंकले स्वीकृति दिएको छ। प्रभु बैंक र ग्रान्डबैंकबीच हुने मर्जरका लागि पनि राष्ट्रबैंकले स्वीकृति दिएको छ।
जनता बैंक र माछापुच्छ्रे बैंकबीच पनि मर्जरमा जाने सहमति भएको छ। जनताले यो वर्ष मर्जमा जाने प्रस्ताव गरे पनि माछापुच्छ्रेले मर्जर गरेर पुँजी बढाउने प्रस्ताव पठाएको थिएन।
यसले पनि बैंक तथा वित्तीय संस्थाले मर्जर गर्ने प्रस्ताव राष्ट्रबैंकमा नगरे पनि अन्तिम विकल्पका रूपमा मर्जरलाई लिने देखिन्छ । यो वर्ष र अर्को वर्ष पनि मर्जरमा जाने प्रस्ताव गर्ने वाणिज्य बैंकमा सिभिल, लुम्बिनी र सिद्धार्थ बैंक छन्।
राष्ट्रबैंकमा विवरण पठाउने बैंकमध्ये १५ वटा वाणिज्य बैंकले मर्जरबाट पुँजी पुर्याउने योजना पेस गरेका छन्।
सेन्चुरी बैंकले अर्को आर्थिक वर्षमा मर्जरमा जाने प्रस्ताव गरेको छ। राष्ट्रबैंकका अधिकारीहरू पुँजी बढाउन बोनसले नपुग्ने र हकप्रद सेयर पनि बिक्री नहुने भए पनि केहीले देखाउनका लागि मात्र हकप्रदको प्रस्ताव हालेको विश्लेषणमा छन्।

सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थामा सबै जसोको बोनस दिएकै आधारमा तोकिएको चुक्ता पुँजी पुग्ने सम्भावना छैन।पुँजी वृद्धिको प्रस्ताव पेस गर्दा बोनस र हकप्रदबाट पुर्याउन खोजेका केही वाणिज्य बैंकलाई राष्ट्रबैंकले साना विकास बैंक र फाइनान्स कम्पनीलाई मर्ज गर्नुपर्ने बताएको थियो।
‘आफ्नो तरिकाले बोनस र हकप्रदले दुई वर्षभित्रमा आठ अर्ब चुक्ता पुँजी पुर्याउन खोजेका थियौु,एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘राष्ट्रबैंकका अधिकारीको मनासय मर्जर गरेर पुँजी वृद्धि गरोस भन्ने छ।’
राष्ट्रबैंकले २०७४ असार मसान्तभित्रमा वाणिज्य बैंकको चुक्ता पुँजी दुई अर्बबाट बढाएर आठ अर्ब,राष्ट्रिय स्तरका विकास बैंकको ६४ करोडबाट साढे दुई अर्ब तथा राष्ट्रिय स्तरका फाइनान्स कम्पनीको २० करोडबाट ८० करोड पुर्याउन निर्देशन दिएको थियो।
अहिले सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी एक खर्ब ३९ अर्ब रुपैयाँ छ। दुई वर्षभित्रमा अहिले सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाले मर्जमा नगएर आफ्नै तरिकाले पुँजी पुर्याउने हो भने दुई खर्ब २८ अर्ब रुपैयाँ थप्नुपर्ने हुन्छ।
डेभलपमेन्ट बैकर्स संघका अध्यक्ष तथा कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने बढीमा २० वटा बैंक तथा वित्तीय संस्था बाहेक अन्यले मर्जरमा नजाँदासम्म चुक्ता पुँजी पुर्याउन नसक्ने बताउँछन्। ‘पुँजीवृद्धिका लागि सुरुमा दिने बोनस र हकप्रद होु ,उनले भने, ‘अन्तिम विकल्प मर्जर भए पनि त्यसमा नजाँदासम्म पुँजी वृद्धि हुँदैन।’
राष्ट्रबैंकले तोके अनुसारको पुँजी वृद्धिपछि अहिले सञ्चालनमा रहेका ३० वटा वाणिज्य बैंकमा बढीमा २० वटामा झर्ने छन्। यस्तै विकास बैंक २० वटा तथा फाइनान्स कम्पनी १५ वटाको हाराहारीमा सञ्चालनमा आउनेछन्।
राष्ट्रबैंकका अधिकारी केही बैंक तथा वित्तीय संस्थाले बोनस र हकप्रदबाट पुँजी पुर्याउन नसक्ने भए पनि प्रस्ताव पठाएको विश्लेषण गरेका छन् । ‘केही बैंक तथा वित्तीय संस्थाले व्यावहारिक रूपमाभन्दा पनि राष्ट्रबैंकमा पठाउनका लागि प्रस्ताव तयार पारेको देखिन्छु ,राष्ट्रबैंकका एक अधिकृतले भने, ‘अध्ययनपछि के गर्ने भन्ने निर्णय हुन्छ।’
राष्ट्रबैंकले तोकेको चुक्ता पुँजी नपुग्दासम्मका लागि नगद लाभांश बाड्न रोक लगाएको छ। यसले गर्दा अहिले बैंक तथा वित्तीय संस्थाले धमाधम बोनस सेयर घोषणा गरेका छन्।













