२० असोज, काठमाडौं । काँकडभिट्टा, जोगवनी र नेपालगञ्ज रुपैडिहा नाकाबाट गएराति र आज बिहान गरेर पेट्रोलियम पदार्थ बोकेका ४९ वटा सवारी नेपाल भित्रिएका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टालाई उद्धृत गर्दै राससले गएराति ३४ र आज बिहान एउटा गरी जम्मा ३५ वटा ट्यांकर नेपाल भित्रिएका उल्लेख गरेको छ ।
नेपाल भित्रिएका ट्यांकरमध्ये पेट्रोल बोकेका १३ वटा, मट्टितेल बोकेका एक र डिजेल बोकेको २१ वटा ट्यांकर नेपाल भित्रिएको मेची पेट्रोलियम एसोसिएसन झापाका अध्यक्ष लयप्रसाद भण्डारीले जानकारी दिए ।
बुधबार बिहान ४ वटा डिजेल बोकेको ट्यांकर जोगवनी नाकाबाट नेपाल भित्रिएका छन्। ३ वटा ग्यासको बुलेट गाडी नेपाल छिरेका छन् । आज जोगवनी नाकामा चहलपहल बढी छ ।
औद्योगिक कच्चापदार्थ र खाद्यन्न सामाग्री बोकेका ट्रकहरु पनि नेपाल भित्रिएको छ । यही नाकाबाट गए राति ५ वटा पेट्रोल बोकेका ट्यांकर नेपाल छिरेका थिए ।
यस्तै नेपालगञ्ज रुपैडिहा नाकाबाट गएरातिदेखि आज मध्यान्हसम्ममा २ वटा ग्यास बुलेट र ५ वटा डिजेल बोकेका ट्यांकर नेपाल भित्रिएका छन् ।











