१९ असोज, काठमाडौं । नेपालमा भारतले गर्दै आएको हस्तक्षेपविरुद्ध चीनसँग पहिलेदेखि नै शंकास्पद सम्बन्ध राख्दै आएको एमाओवादीले फेरि एकपटक चीनसँगको छलफललाई बढाएको छ । सरकार निर्माणका लागि सांसद खरिद विक्री गर्न चीनसँग रकम मागेको कृष्णबहादुर महराको अडियो टेप यस अघि रअले सार्वजनिक गरेको थियो । भारतले अघोषित नाकाबन्दी गरेको अवस्थामा एमाओवादीले पुनः चीनसँग मिलेर भारतलाई अप्ठेरोमा पार्ने रणनीति बनाउन लागेको हो । भारतविरुद्धको योजना बनाउन र नेपालभित्रै भारतीय एजेन्टका रुपमा रहेका राजनीतिक दलले चीनको झण्डा जलाएको विषयमा समेत गम्भीर छलफल हुने गोप्य स्रोत बताउँछ ।
यसैका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उच्चस्तरिय राजनीतिक भेटघाटको याजना बताएर चीन जाँदै छन् । प्रचण्ड अक्टोबर १५ मा राजधानी बेइजिङ जान लागेको उनका स्वकीय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चुडामणि खड्काले जानकारी दिएका छन् ।
भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने पनि खड्काले जानकारी दिए । नेपालको संविधान निर्माण र त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे प्रचण्डले बेइजिङमा उच्च नेतृत्वसँग छलफल गर्ने छन् । प्रचण्डको यो भ्रमणबारे भारतीय गुप्तचर एजेन्सी रअले पहिलेदेखि नै अति गोप्य रुपले निगरानी गरिरहेको उच्च स्रोत बताउँछ ।
संविधान जारी गर्नुपूर्व प्रचण्डले भारतको भ्रमण गरेर भारतको समर्थन लिने कोसिस गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले एक्लै गरेको भेटवार्ता आलोचनाको विषय बनेको थियो । कुनैवेला राष्ट्रिय स्वाधिनताको आन्दोलनका नाउँमा भारतविरुद्ध आमहडताल गरेका प्रचण्डले भारतीय विदेशमन्त्री सुषमा स्वराजलाई सम्धीसम्धीनी ढोगभेटको शैलीमा शिर झुकाएर चाकडी गरेको तस्वीर समेत सार्वजनिक भएको थियो । स्वराजको त्यस्तो चाकडी गर्दा समेत तिनैले सबैभन्दापहिले संविधानको समर्थन नगरेको विज्ञप्ती जारी गरेपछि प्रचण्ड मर्माहत भएका थिए । भारतको यस्तो सदैव नेपालप्रतिको कृदिष्टीले चिढिएका प्रचण्डले चीनविरुद्ध भारतीय निर्देशनमा काम गरेका केही दलहरुको विषयमा समेत गम्भीर रुपले छलफल गर्ने बताइएको छ । नेपाललाई पेट्रोलियम लगायतको आपूर्तिका लागि पहल गरिदिने प्रचण्डले चीनलाई विशेष आग्रह गर्नेछन् ।

फाइल तस्वीर












