१८ असोज, काठमाडौं । मधेसी मोर्चाका कार्यकर्ताहरुले बेलहिया नाकास्थित भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।
रक्षात्मक अवस्थामा रहेका नेपालका जनपथ र सशस्त्र प्रहरीमाथि घरेलु हतियार, ढुंगा र गुलेलीबाट मोर्चाका कार्यकर्ताहरुले आक्रमण गर्दा नाकाक्षेत्र तनावग्रस्त भएको हो ।
भारतीय भूमिबाटै आएर सीमा सुरक्षा कार्यालय र र भारतीय चौकी नजिकका घरका छतमा बसेर मोर्चाका कार्यकर्ताहरुले नेपाली सुरक्षाकर्मीमाथि ढुंगा र इँटा बर्साएका हुन् ।
मोर्चाका कार्यकर्ताहरुले गुलेलीबाट गुच्चाले आक्रमण गर्दा एकजना डिएसपीसहित १२ जना घाइते भएका छन् ।
रक्षात्मक अवस्थामा बसेर अवस्थालाई साम्य पार्न खोजिरहेका नेपाली सुरक्षाकर्मीमाथि मोर्चाका कार्यकर्ताहरु भारतीय सुरक्षाकर्मीको आडमा आक्रमण उत्रेका हुन् ।

मोर्चाका कार्यकर्ताको आक्रमणबाट प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की लगायत १२ जना सुरक्षाकर्मीहरु घाइते भएका छन् । केही पत्रकार समेत आक्रमणमा परी घाइते भएका छन् ।
उनीहरुलाई मोर्चाका कार्यकर्ताले हानेको ढुंगा र इँटाले लागेको हो । मोर्चाका कार्यकर्ताले निरन्तर आक्रमण गरिरहँदा पनि नेपाली सुरक्षाकर्मीहरु रक्षात्मक अवस्थामा बसेका छन् ।
मोर्चाका कार्यकर्ताको ज्यादती बढेपछि प्रतिकारमा उत्रेका बेलहियाका स्थानीयबासीलाई सुरक्षाकर्मीहरुले शान्त पार्ने कोशिश गरिरहेका छन् ।
दशगजा र भारतीय भूमिबाट निरन्तर आक्रमण भइरहँदा भारतीय सुरक्षाकर्मीहरु भने रमिते बनेका छन् । उनीहरुले मधेसी मोर्चाका कार्यकर्ताहरुलाई नलखेट्दा बेलहिया नाकामा तनाव झन बढ्दै गएको हो ।











