१६ असोज, काठमाडौं । नयाँ प्रधानमन्त्रीका प्रमुख दावेदार मानिएका एमाले अध्यक्ष केपी ओलीले सरकार गठनमा षठयन्त्र भएको गुनासो गरेका छन् । केपी ओलीले सहमतीय सरकार गठन हुन नदिन चलेखेल बढेको भन्दै अबको प्रधानमन्त्री बहुमतीय आधारमा चयन हुने बताएका हुन् ।
शनिबार काठमाडौमा युवा संघको केन्द्रिय कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले दलहरुबीच सहमतिको आधारमा सरकार गठन गर्न अधिकतम कोशिश भएपनि सम्भन नदेखिएको बताएका हुन् । मुलुकले असोज २४ गतेभित्र प्रधानमन्त्री पाउने उनको भनाइ थियो । दलहरुबीच भएको सहमति अनुसार मुलुकले प्रधानमन्त्री पाउने उनले बताए ।
संविधानसभाबाट संविधान जारी भएपछि भारतले अघोषित नाकाबन्दी गर्दा जनजीवन प्रभावित भएको भन्दै उनले उक्त नाकाबन्दी वार्ताका माध्यमबाट छिट्टै अन्त्य हुने उल्लेख गरे । नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले समुद्रसँग जोड्नका लागि अधिकार भएको बताउँदै उनले नाकाबन्दी भएर पनि नयाँ संविधान पाएकामा नेपाली खुसी भएको विचार व्यक्त गरे । प्रतिक्रियावादीको चलखेलका कारण पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेको र दोस्रो संविधानसभामा उनीहरुको जोर नचलेपछि मधेसी जनतालाई उचाल्ने काम भएको ओलीले प्रष्ट पारे ।











