१५ असोज, काठमाडौं । सिंहदरबारमा आफ्नो तस्वीर झुण्ड्याउन आतुर एमाले अध्यक्ष ओलीलाई अन्ततः कांग्रेस सभापति सुशील कोइरालाले धोका दिएका छन् । संसदको अधिवेशन सुरु भएकै दिन प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका ओलीका मन्त्रीहरु समेत वर्खास्त गरेर कोइरालाले आफ्नो पद लम्ब्याउने तयारी गरेका छन् ।
एमालेको तीब्र दबाब भए पनि प्रधानमन्त्री सुशील कोइरालाले आज राजीनामा नदिने भएका छन् । उनले आज बस्ने संसद बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ ।
संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले तराईलगायत देशका विभिन्न भागमा देखिएको आन्दोलनको समस्या समाधान गरेर मात्रै राजीनामा गर्ने घोषणा गर्ने उनी निकट स्रोतले जानकारी दिएको छ ।
असोज ३ गते जारी भएको नेपालको संविधान अनुसार संसद अधिवेशन सुरु भएको ७ दिनभित्र नयाँ सरकार गठन गर्ने प्रावधान छ । संविधान कार्यान्वयनका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने सत्तारुढ एमालेको तर्क छ ।
प्रधानमन्त्री भने तराई मधेसको माग सम्बोधन गर्ने गरी संविधान संशोधन गरेर मात्रै राजीनामा दिने पक्षमा छन् ।
दलहरुबीच संविधान जारी भएलगत्तै एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको भनिंदै आएको छ ।
प्रधानमन्त्रीले संसदमा गर्ने सम्बोधनको बिषयमा छलफलका लागि आज ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
संविधानमा उल्लेख गरिएको सीमांकनलगायत बिषयमा असन्तुष्ट मधेस केन्द्रित दलले तराईमा ५० दिनदेखि आन्दोलन गरिरहेको छ । असन्तुष्टसँग वार्ताको लागि तीन दलले गठन गरेको तीन सदस्यीय वार्ता टोलीले वार्ता सुरु गरिसकेको छ ।












