१४ असोज, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेसी बजारमा रोकिराखेको माइक्रो बस हाइसमा ठोक्किएर ट्रिपर पल्टिँदा ४ जनाको मृत्यु भएको छ। बिहीबार साँझ ६ः४५ मा भएको घटनामा अन्य तीनजना गम्भीर घाइते छन्।
करिव दुई घण्टा अघिमात्र सोही स्थानमा सडक विभागको गाडीसँग माइक्रोबस ठोक्किँदा ७ जना घाइते भएका थिए। ठोक्किएका दुवै सवारी सडकमै थिए। दुर्घटना भएर सडक किनारामै रोकिएको बा २ ख ४१३१ माइक्रो बसका कारण सडक साँघुरो थियो। सवारी आवागम सुचारु गर्न महादेवबेसी प्रहरी चौकीका प्रहरी हवल्दार सडक किनारामा उभिएका थिए। साँघुरो बाटोमा तीब्र गतिमा गुडेको रित्तो ट्रिपर बा ३ ख ४८२७ माइक्रोबसमा ठोक्कियो स्थानीय विष्णु कार्कीले बताए।
अघिल्लो दुर्घटनाका कारण बाटोमै रोकिएको सडक विभागको पिकअप भ्यान र माइक्रो बस सडक किनारामै थिए। अघिल्लो दुर्घटनामा सामान्य घाइते भएकालाई गाडी रोक्दै सडक क्लियर गर्न किनारामा प्रहरी हवल्दार सुदर्शन हुमागाइ उभिएका थिए। घटनाका प्रत्यक्षदर्शी स्वास्थ्यकर्मी प्रेम आलेले बताएअनुसार सडक विभागको पिकअप सडकबाट हटाएकोभए दुर्घटना हुने थिएन।
अघिल्लो दुर्घटनाबाट बचेका एक युवक र महादेवबेसी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार हुमागार्इको सोही दुर्घटनामा मृत्यु भएको छ। हवल्दार हुमागाईको उपचार गर्न ग्राण्डी अस्पताल पुग्ने वित्तिकै डाक्टरले मृत घोषित गरिदिएको धादिङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सविन प्रधानले जानकारी दिए। घटनास्थलै मृत्यु हुनेहरुको सनाखत साँझ अवेरसम्म हुन सकेको छैन। टिपर चालक सहित तीन जना गम्भीर घाइतेलाई उपचारका निम्ति काठमाडौं पठाइएको छ।
ट्रिपरको ठक्करबाट माइक्रोबस करिव ५० मिटर पर उछिट्टिएको छ। तत्कालै स्थानीयले उद्धार गरी बाटो सुचारु गराएका छन्। टिपर चालक फरार छन्। तीनवटै शव पोष्ट मार्टमको लागी प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको प्रहरीले जनाएको छ।











