१४ असोज, तनहुँ । प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन नगर्न निर्देशन दिएको भोलिपल्ट मोदीको पुत्ला दहन र शव यात्रा गरिएको छ । तनहुँको दमौलीमा विहीबार भारतीय प्रधानमन्त्री मोदीको शवयात्रासहित पुत्ला दहन गरिएको हो । विभिन्न दलसम्बद्ध विद्यार्थी संगठन, स्थानीयवासिन्दा लगायतले मोदीको शवयात्रा निकालेका हुन् ।
नेपाली जनतालाई दुःख दिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुर्दावाद लगायका प्ले कार्डसहित प्रदर्शन गरिएको थियो । भारतले गरेको अघोषित नाकाबन्दीको विरोध प्रदर्शनकारीले गरेका थिए ।
नेपालका लागि भारतका राजदूत रञ्जित रेले समेत एक दिनपहिले काठमाडौंमा पत्रकार सम्मेलन गरी भारतीय झण्डा जलाएको र प्रधानमन्त्री मोदीको पुत्ला दहन गरिएकोप्रति गुनासो गरेका थिए । भारतविरोधी भावना नेपालमा फैलिएकोप्रति उनले दुखेसो समेत गरेका थिए ।
(तस्वीर :पवन पौडेल, तनहुँ)











