१४ असोज, काठमाडौं । प्रमुख तीन दलले नाकाबन्दी फिर्ता लिन आन्दोलनरत मधेसी दलहरुलाई आग्रह गरेका छन् ।
तमलोपा पार्टी कार्यालय बिजुली बजारमा मधेसी मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग छलफल गर्दै वार्ता टोलीले शीर्ष तहको निर्णायक वार्ताका लागि मधेसी मोर्चाका पूर्वसर्त मान्न सरकार सकारात्मक रहेको भन्दै नाकाबन्दी फिर्ता लिन आग्रह गरेका हुन् । प्रदेशहरुको सीमांकन राजनीतिक सहमतिको आधारमा गर्ने प्रस्तावसहित तीन दलीय वार्ता टोलीले मधेसी मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेको थियो । वार्ता टोलीले मधेसी मोर्चाले औपचारिक वार्ता सुरु गर्न राखेको पाचबुँदे सर्तप्रति सरकार र प्रमुख तीन दल सकारात्मक रहेको बताएको थियो । यसबारे सरकारले छिट्टै निर्णय लिने भन्दै तीन दलीय वार्ता टोलीले नाकाबन्दी फिर्ता लिन आग्रह गरेको थियो ।
जवाफमा तमलोपा अध्यक्ष ठाकुरले पहिला सरकारले निर्णय गर्नुपर्ने र त्यसपछि मोर्चाले के गर्ने भनेर निर्णय लिने अडान व्यक्त गरेका थिए ।
तीन दलले दुवै पक्षबाट निर्णय लिएपछि शुक्रबार राजनीतिक मुद्दामा शीर्ष तहमा छलफल गर्ने प्रस्ताव गरेको थियो ।











