१४ असोज, काठमाडौं । नेपाली जनताका प्रतिनिधिको बहुमतले जारी गरेको संविधानप्रति समेत असन्तुष्टी जनाउँदै विज्ञप्ती प्रकाशित गरेकी भारतीय विदेशमन्त्री सुषमा स्वराजले आफूलाई गलत रुपले नबुझिदिन नेपालका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग आग्रह गरेकी छिन् ।

भारतले गणतन्त्रात्मक संविधानको समर्थन नगरेकोले राजतन्त्र फर्काउन चाहेको भनी लागेको आरोपको खण्डन गर्दै स्वराजले कहिले पनि नेपालमा राजतन्त्र पुनःस्थापना गर्ने पक्षमा भारत नरहेको स्पष्ट बताइन्।
संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन आएका नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग बिहीबार अमेरिकामा भएको करिब ४५ मिनेट लामो भेटवार्ता भएको थियो । नेपालको संविधान जारी भएपछि दुवै देशबीच पछिल्लो समय सम्बन्धमा उतारचढाव देखिएको बेला दुवै देशको उच्च तहमा पहिलोपटक अमेरिकामा भेटवार्ता भएको हो ।
संविधान निर्माणपछि उत्पन्न नेपालको पछिल्लो अवस्थाका बारेमा केन्द्रित रहेको सो छलफलमा भारतले तेललगायतका सामान बोकेका सवारीसाधन नेपालको सीमासम्म पुर्याउने काम भारतको भएको र त्यसमा कुनै अवरोध नगरेको पनि जनाएको छ । ‘ढुवानी सीमासम्म पुर्याउन भारतले अवरोध गरेको छैन, गर्दैन पनि’, मन्त्री सुषमा स्वराजको भनाइ उद्धृत गर्दै मन्त्री पाण्डेले भने।
नेपालले भने नेपाल भूपरिवेष्टित देश भएकाले सामान ढुवानीमा कुनै कठिनाइ हुन नहुने र यसैका कारण दुई देशबीचको सम्बन्ध खलबलिन दिन नहुने धारणा राखेको थियो ।

भारतबाट नाकाबन्दी भएको भन्दै पछिल्लो समयमा नेपालमा भारत विरोधी धारणा बढेकामा पनि भारतले चित्त दुखाएको थियो ।
नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले कस्तो संविधान हुनुपर्छ र कुनै पनि समस्यालाई कसरी समाधान गर्नुपर्छ भन्नेबारे निर्णय लिनमा नेपाल र नेपाली स्वतन्त्र रहेको पनि भारतले स्पष्ट गरेको मन्त्री पाण्डेले बताए ।
संविधान निर्माणपछि नेपालमा अहिले भइरहेको आन्दोलनप्रति भने भारतले वार्ताद्वारा नै समस्याको समाधान खोज्नुपर्ने धारणा राखेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।
सो भेटवार्तामा प्रधानमन्त्रीका विदेशी मामिला सल्लाहकार डा भट्टराई, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागी, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि दुर्गा भट्टराई, अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीलगायत नेपालका उच्च सरकारी पदाधिकारीको सहभागिता थियो ।
भारतका तर्फबाट भने विदेश मन्त्री सुषमा स्वराज, विदेश सचिव एस जयशंकरलगायतका उच्च सरकारी अधिकारीको सहभागिता थियो ।
परराष्ट्रमन्त्री पाण्डेसँग भेट्दा सुषमा केही झुकेर दुवै हात मिलाएकी थिइन् भने पाण्डेले एक हात मिलाउँदै स्वाभिमानी किसिमले उभिएका थिए । यसअघि नेपालका दुई पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले भारतको भ्रमण गर्दा सुषमालाई शिर झुकाउँदै नमस्कार गरेका र हात मोल्दै गरेका तस्वीरहरु सार्वजनिक भएका थिए । तर अमेरिकामा भएको दुवै पक्षबीचको भेटमा भारत केही नतमस्तक भएको र लज्जित भएको देखिएको थियो । बरु उल्टै सुषमाले पाण्डेको हात मोलेको बुझ्ने बडी ल्याङ्ग्वेज देखाएकी थिइन् । कुटनीतिक भाषामा यस्तो बडी ल्याङ्ग्वेजलाई चाकडीको भाषाका रुपमा लिइने गरिन्छ ।











