१२ असोज, जनकपुर । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले तराई–मधेश र थरुहट आन्दोलन शासक वर्गसँग भएको बताउँदै मधेशी र पहाडीबीचको सम्बन्ध विग्रन दिन नहुने बताएका छन् । आज जनकपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – ‘पहाड र तराई–मधेशको बीचमा हजारौं वर्षदेखि असल सम्बन्ध रहिआएको छ तर शासक वर्गका केही मान्छेहरु यसलाई विगार्न लागेका छन्, यो सम्बन्ध विग्रन दिनुहुँदैन ।’

उनले भने – ‘तराई–मधेशको लडाईं शासक वर्गसँग हो, यो लडाईं पहाडी समुदायको विरुद्ध हुनु हुँदैन । सबै नेपाली एक हुनुपर्छ । नेपाली राष्ट्रिय अखण्डता कायम गर्नुपर्छ । अखण्ड नेपालभित्र नै स्वायत्त मधेश प्रदेश हुनुपर्छ । तपाईंहरुको यो मागमा मेरो पूर्ण समर्थन छ ।’
कुनै पार्टीको नेताको रुपमा भन्दा पनि सामान्य नागरिकको रुपमा आफू उपस्थित भएको र तराई–मधेशको आवाज सिंहदरबारमा बस्ने शासकवर्गलाई सुनाउनका लागि आफू जनकपुर आएको पनि उनले बताए । ‘पहाडमा बस्ने कतिपय शासकवर्ग जो आफूलाई मात्रै नेपाली सम्झन्छन् उनीहरु मधेशमा हजारौं सालदेखि बस्ने भूमिपुत्र मधेशी र थारुहरुलाई नेपाली मान्दैनन् । समस्याको जड यही हो । मधेशीरथारुले आफ्नो पहिचान र सम्मान पाउनुपर्छ ।’
संवाद समितिको सभापति भएर पनि तराई–मधेश र थरुहटको माग सम्बोधन गर्न आफू असफल भएको उहाँले बताउनुभयो । आफूले निकै कोशिश गर्दा पनि असफल भएको उनको भनाइ थियो । पहिलो संविधानसभाको राज्य पुनस्संरचना समिति र अन्तरिम संविधानबमोजिम गठित आयोगको प्रतिवेदनमा मधेशमा दुई प्रदेश नारायणीपूर्वमा मधेशी बाहुल्य मधेश प्रदेश र नारायणीपश्चिममा थारु र मधेशीको संयुक्त प्रदेश हुने विषयमा सहमति भएको तर केही व्यक्तिले यो कुरा नमान्दा अहिलेको समस्या आएको उनले बताए। उनले आफू सधैं तराई–मधेश र थारुहरुको पक्षमा हुने दावी गरे।
अहिले जारी भएको संविधान पूर्ण नभएकोले आफूले जबसम्म तराई–मधेश र थरुहटको माग पूरा हुँदैन तबसम्म दिपावली मनाउनु उपयुक्त नहुने बताएको पनि उल्लेख गरे । उत्पीडित समुदायहरुप्रतिको पार्टीको नीति कतिपय नेताहरुले छोडेका कारण र अरु केही कारणले आफू पार्टी र संसद्बाट राजीनामा दिएर उत्पीडितहरुको सामु आएको उनको भनाइ थियो।
तराई–मधेश र थारुहरुको जायज मागलाई शासक वर्गले नसुनेकै कारण यसको नाजायज फाइदा उठाउँदै छिमेकी भारतले सीमामा अवरोध गर्ने काम गरेको र यसबाट सबै नेपालीहरुले कष्ट भोग्नुपरेको बताए । काठमाडौं र दिल्लीका शासक वर्गको बीचको लडाईंबाट सबै नेपालीहरुले पीडा खेप्नुपरेको उनले बताए।
‘म काठमाडौं पुगेर शासकवर्गसँग मधेशको समस्या वार्ताद्वारा समाधान खोज्न र सीमामा देखिएको समस्यालाई दिल्लीसँग कुटनीतिक तरिकाबाट वार्ता गरी समाधान गर्न भन्नेछु’, उनले भने – ‘हामीले भारत र चीन दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ । कुनै पनि छिमेकीसँग दुश्मनी साँधेर समस्याको समाधान हुँदैन ।’ अबको नयाँ समावेशी, समानुपातिक, संघीय नेपालका लागि कांग्रेस, एमाले, एमाओवादी जस्ता पुराना शक्तिहरुले नहुने भन्दै उनले अब सबै मिलेर नयाँ शक्तिको निर्माण गर्नुपर्ने पनि बताए ।
डा भट्टराईलाई जनकपुरस्थित गोपाल धर्मशालाको आमसभामा पुष्पवृष्टिसहित स्वागत गरिएको थियो भने विदाइका क्रममा हात हल्लाएर सहज वातावरणमै विदाइ गरिएको थियो । डा भट्टराई त्यहाँबाट हिँडेपछि विमलेन्द्र निधी समर्थक लगायतका केही युवाले मञ्च तोडफोड गरेको भट्टराई समर्थकहरुले दावी गरेका छन्। मधेशी आन्दोलनकारीहरुबाट मञ्च तोडफोड नभएको भट्टराई स्रोतले बताएको छ । डा बाबुराम भट्टराईलाई जनकपुरबाट लखेटेको हल्ला सत्य नभएको समेत भट्टराईको सचिवालायले जनाएको छ ।











