१२ असोज, काठमाडौ । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले भारतले नेपालमा नाकाबन्दी नै नलगाएको जिकिर गरेका छन् । भारतको अघोषित नाकाबन्दीको कारण नेपालमा सहज आपूर्ति नहुँदा जनजीवन कष्टकर बन्दै गईरहेको बेला उनको त्यस्तो भनाइ आएको हो ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘भारतले नाकाबन्दी नलगाएको भनेर पटक पटक भनिरहेकोछ । उसले नेपालमा असुरक्षा छ भनेर भनिरहेको छ । यस्तो बेलामा हामीले नाकाबन्दी लगाएको भन्ने आधार छैन । हामीले पनि भुपरिबेष्ठित र अति कम विकाशसील मुलुकको संबेदनशिलता बुझ्न भनेका छौ । त्यसैले अहिले हामी संयमित बन्नु पर्छ यसलाई थप जटिल बनाउने काम गर्नु हुँदैन । कुटनीतिक तहबाट समस्याको समाधान खोज्नु पर्छ । आरोप प्रत्यारोप गरेर समस्याको समाधान हुँदैन ।
साक्षात्कारमा राजदुत उपाध्यायले नेपालको अवस्था र समस्याको विषयमा भारतलाई पूर्ण जानकारी रहेको दावी गर्दै उनले भने–छिटो समस्या समाधान हुन्छ भन्ने आशा गरौ । २–४ दिनमा केही होला । हाम्रो अवस्थाको विषयमा उहाँहरुले अब्जर्भ गरिरहनु भएको छ ।
उनले नेपालले गरिरहेको कुटनीतिक प्रयास टुङ्गोमा नपुगुन्जेलसम्म धैर्य गर्नुपर्ने भन्दै भारतले सात बुँदे प्रस्ताव पठाएको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।
उपाध्यायले भने,‘ अब केही दिन मात्रै धैर्य गर्नु पर्छ । समस्याको समाधान हुन्छ । जे भयो अति भयो अब यसलाई अघि बढाउनु हुँदैन ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिब्यक्ति नआउन्जेलसम्म हामी संयमित हुनु पर्ने भन्दै अहिले नै एक अर्काको हृदय विझ्ने गरी कुनै काम गर्न नहुने बताए ।
उपाध्यायले आफूले भारतमा रहँदा यो विषयमा गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री शुष्मा स्वराजसहितका बरिष्ठ सरकारी अधिकारीहरुलाई भेटेको र अब भारतीयप्रधानमन्त्री मोदी फर्किएपछि भेट गरेर सबै कुरा राख्ने जानकारी दिदै भारतमा पनि यो घटना अनपेक्षित हो भन्नेमा जनमत बन्नु सकारात्मक भएको बताए ।
भारतको पनि नेपालमा समृद्धि र सम्पन्नताको लागि छिटो संविधान बनाउनु पर्ने धारणा आफूले पाएको भएपनि संविधान बन्नेपछि अनपेक्षित परिणाम आएको उल्लेख गर्दै उनले भने,‘ आगो लागेको देखेपछि पहिला पानी हालेर निभाउनु पर्छ त्यसपछि मात्रै के के कारणले आगो लाग्यो भन्ने कुराको खोजी गर्नु पर्छ । जे भयो नहुने कुरा भयो, तर छिटो यसको अन्त्य गर्नु पर्छ, केही कमि कमजोरी भए मिलाउनु पर्छ ।’
राजदुत उपाध्यायले जनतालाई दुख दिएर नेपालका राजनीतिक दल र भारत कसैलाई पनि फाईदा नहुने तर्क गर्दै आफूले कुटनीतिक मर्यादाको सीमामा रहेर प्रयास गरिरहेकोले केही दिनमै नतिजा सकारात्मक हुन्छ भन्नेमा आफू आशाबादी रहेको बताए ।
उनले भने,‘ अहिलेको घटना क्रम राम्रो देखिएन भनेर हामीले भनेका छौ । समस्याको विषयमा भारत जानकार छ । यहाँबाट गएर अब भारत गएर नेपालको संविधानको विषयमा छलफल हुन्छ । मैले सरकारलाई भनेको छु, कम्तिमा पनि प्रत्येक गाविसमा एउटा संविधान र विदेश स्थित कुटनीतिक नियोगमा अग्रेजीमा अनुबाद गरिएको संविधान पठाउनु पर्छ । म पनि संविधान लिएर दिल्ली जान्छु ।
नेपालमा प्रवेश गरेका साधनको सुरक्षाको जिम्मा नेपाल सरकारको भएको र नेपाल सरकारले सुरक्षा दिने प्रतिबद्धता ब्यक्त गरिसकेकोले त्यसलाई पनि भारतले बुझेर आपूर्ति ब्यवस्था सहज बनाउन सहयोग गर्नु पर्ने बताए ।
जनतालाई दुख दिएर राजनीति अगाडि बढ्न नसक्ने भएकोले नेपाली नेताहरु आन्तरिक राजनीतिक मिलाउन लागेको भन्दै उपाध्यायले सरकारले बारम्बार आग्रह गर्दा पनि बार्ता हुन नसक्नु भने विडम्बना पूर्ण अवस्था भएको बताए । उनले भने–हिंसा गरेर जनतालाई दुख दिएर हुँदैन । नेपाली जनतालाई दुख दिने काम नगरौ ।
साक्षात्कारको क्रममा सञ्चारकर्मीहरुले कहिले आपूर्ति सहज हुन्छ भनि पटक पटक राखेको जिज्ञासमा राजदुत उपाध्यायले धैर्य गरौ, संयमित होऊ, छिट्टै समस्या समाधान हुन्छ भनेर मात्र जवाफ दिएका थिए ।











