१२ असोज, वीरगंज । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नेपालमा भारतीय टेलीभिजन च्यानल बन्द गराएकोमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आपति जनाएको छ । मंगलबार वीरगंजमा पत्रकार गरी मोर्चाका पर्सा जनपरिचालक समितिका संयोजक प्रदीप यादवले सदियौंदेखि कायम नेपाल भारतको सम्बन्ध खल्बलाउन सक्रिय भएको दावी गरे ।
जारी मधेश आन्दोलनमा विश्व समुदायबाट चौतर्फी सहयोग प्राप्त भई रहँदा आन्दोलनको मुद्दालाई बंग्याउन दिगभ्रमित पार्न खोजेको आरोप यादवले लगाए । संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष समेत रहेका यादवले नेपालमा प्रसारित भारतीय मिडिया र भारतीय सवारी साधनलाई बन्दको आह्वान गरेको खबरले लोकतन्त्रमा जनताको स्वतन्त्रतामा अंकुश लगाउन खोजेको आरोप लगाए ।
भारतीय टेलिभिजन च्यानल बन्द गर्नुमा केबुल एसोशिएशनको समेत संलग्नता देखिएको भन्दै २४ घण्टाभित्र प्रसारण खुल्ला नगरे परिणाम नराम्रो हुने धम्की यादवले दिए । उनले मधेसमा नेपाली भाषाका संचारमाध्यममा प्रतिबन्ध लगाउने धम्की दिए ।
काठमाडौं लगायतका पहाडी ठाउँमा २४ घण्टाभित्र पहिलेदेखि संचालनमा रहेका भारतीय च्यानल पुनः सूचारु नगराए नेपाली भाषाका सम्पूर्ण टेलीभिजन च्यानल र चलचित्रलाई मधेशमा रोक लगाउने धम्की उनले दोहोर्याए ।












