११ असोज, भारत । डेढ महिना लामो बन्दले सीमावर्ती भारतीय बजार पनि प्रभावित भएपछि यहाँका व्यापारीले खुलाउन माग गरेका छन्। कपिलवस्तुको कृष्णनगरस्थित सीमावर्ती भारतीय बजार बढनी बन्दले सुनसान बनेको छ। यातायात नचल्दा र असहज परिस्थितिले नेपालबाट ग्राहक नआउँदा कारोबार ठप्प बनेको छ। दसैं नजिकिएको बेला नेपाली उपभोक्ता र थोक व्यापारी भरिभराउ हुने बजारमा कुनै चहलपहल छैन।
नेपाली ग्राहककै कारण दैनिक करोडौंको कारोबार हुने यहाँ पछिल्लो ४६ दिनदेखि उपभोक्ता नआउँदा व्यापार चौपट बनेको स्थानीय व्यापारीहरू बताउँछन्। बढनी नेपाली उपभोक्ता र थोक व्यापारीको भरमा चल्ने बजार हो। यहाँ दाङ, प्यूठान, रुकुम, रोल्पा, अर्घाखाँची, रुपन्देहीलगायत जिल्लाबाट सर्वसाधारण र व्यापारी किनमेलका लागि आउने गर्छन्। बन्दले यातायातका साधन नचलेर ग्राहक आउन नसक्दा यहाँको व्यापार ८५ प्रतिशत घटेको बढनी व्यापार मण्डलका पूर्वअध्यक्ष हरभजन सिंहले बताए।
‘बढनी बजारमा दैनिक १ करोडभन्दा बढीको कारोबार हुन्थ्यो, अहिले लाख पनि हुन छाड्यो,’ उनले भने, ‘यहाँ इलेक्ट्रोनिक्सका समान, थान र रेडिमेट कपडाको ठूलो व्यापार बढी हुन्छ।’ किराना, खाद्यान्न, कस्मेटिक, कपडा, भाँडाकुँडा र मोबाइल खरिद गर्न दैनिक सयौंको संख्यामा सर्वसाधारण यहाँ आउने गर्छन्।
बन्दपछि ग्राहक संख्या ९५ प्रतिशतले घटेको बताए। कपडा व्यापारी मनजित सिंहले दाङ तथा प्यूठान पठाउने ५० लाखको कपडा पठाउन नसकिएको गुनासो गरे। ‘भन्सार पक्रिया पूरा गरे पनि गाडी चल्दैनन्,’ उनले भने, ‘कसरी पठाउने, बन्दले कारोबार ठप्प छ।’
कृष्णनगर भन्सार नाकासहित मर्यादपुर र चाकरचौडा छोटी भन्सार ठप्प हुँदा नेपाल पठाउने करौडौं मूल्यका कपडा, खाद्यान्न, कस्मेटिक सामग्री गोदाममा थन्किएको भारतीय व्यापारीले बताए। यहाँ किराना पसल चलाउने मोहम्मद नावेदले बन्दले व्यापार धाराशायी बनेको गुनासो गरे। दिनको ३ सय किलो चिनी बिक्री गर्ने उनले अहिले मुस्किलले २० किलो बेच्ने गरेको सुनाए। दैनिक २ लाख सम्मको कस्मेटिकको कारोबार गर्ने यहाँस्थित मोर्डन ग्यालरीका सञ्चालक सुधांशु गुप्ताले दैनिक ५ हजारको व्यापार हुने गरेको दुस्खेसो पोखे।











