१० असोज, काठमाडौं । भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको आपूर्ति ठप्प भएपछि सरकारले आइतबारदेखि देशभर सवारी सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरेको छ । यही प्रणालीअनुसार आज १० गते आइतबार सडकमा जोर नम्बर प्लेटका सवारी साधनहरु गुडेका छन् ।
गृह मन्त्रालयमा शनिबार बसेको मन्त्रीस्तरीय बैठकले आपूर्ति रोकिएको अवस्थामा मौज्दात इन्धन फारो गरी पुर्याउन यस्तो प्रणाली लागू गरेको हो । गृहले जोर गतेका दिन जोर नम्बर प्लेट भएका गाडी र बिजोर गते बिजोर नम्बर प्लेट भएका गाडी चलाउन अपिल गरेको छ।
यो प्रणाली अत्यावश्यक प्रहरी, सकारका उच्च पदस्थ, सेना, एम्बुलेन्स, अस्पताल, दूध, पानी, स्कुल, ग्यास, प्रेस र अनुगमनमा खटिएका सवारीसाधन बाहेकको हकमा लागू हुने जानकारी गृह मन्त्रालयले जानकारी दिएको छ । केही दिनदेखि भारतीय सीमामा रहेका भन्सार नाका अवरुद्ध भई भारतीय आयल निगमबाट समेत पेट्रोलियम पदार्थ आपूर्तिमा असहज परिस्थिति उत्पन्न भएको छ।
सरकारले गरेको निर्णय नमान्नेलाई कारबाही गर्न प्रहरी र यातायात व्यवस्था विभागलाई जिम्मेवारी तोकिएको छ ।

सरकारले यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई जानकारी नै नदिई एकलौटी जोरबिजोरको निर्णय गरेको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष डोलनाथ खनालले सरकारले आफूहरूलाई जानकारी नदिई निर्णय गरेकामा आपत्ति प्रकट गरे।
सरकारले निर्णय लागू गर्न आइतबार यातायात मन्त्रालयमा बोलाइएको बैठकमा आफूहरुले आपत्ति जनाउने खनाले बताए । हाल मुलुकभर निजी तथा सार्वजनिक गरी १८ लाखभन्दा बढी सवारीसाधन दैनिकरुपमा गड्ने गरेका छन् ।











