९ असोज, काठमाडौं । एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टी परित्याग गर्दै प्रचण्डलाई गम्भीर आरोप समेत लगाएका छन् । भट्टराईले प्रचण्डलाई नक्कली राष्ट्रवादको पक्षपोषक भएको आरोप लगाएका हुन् । भारतले नाकाबन्दी लगाए नेपालीले प्रतिवाद गर्ने भन्दै साइकल चढ्न तयार रहन भनी प्रचण्डले केही दिनपहिले दिएको अभिव्यक्तिको भट्टराईले कडा शब्दमा आलोचना गरे ।
पार्टी परित्यागको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा भारतले गरेको अघोषित नाकाबन्दीको विरोध समेत नगरेका भट्टराईले प्रचण्डको आलोचनामै समय खर्चिए । राष्ट्रियताका लागि साइकल चढ्न तयार हुनुपर्ने प्रचण्डको अभिव्यक्तिका विरुद्धमा बोल्दै भट्टराईले भने नक्कली राष्ट्रवादले केही हुँदैन । आफू साइकल चढ्ने राष्ट्रवादको पक्षमा नभई विजुलीबाट चल्ने कार चढ्ने राष्ट्रवादको पक्षमा रहेको भट्टराईले बताए ।
केही दिनअगाडि मात्र प्रचण्डले भट्टराईको प्रवृत्तिको कडा आलोचना गर्दै आफूले भट्टराईलाई ३० वर्ष झेलेको र कसैले १ वर्ष मात्र झेलेको हेर्न चाहेको अन्तरवार्ता दिएका थिए । भट्टराईलाई गरेको कडा आलोचनाको जवाफ भट्टराईले नक्कली राष्ट्रवादी भन्दै फर्काएका हुन् ।
आफै राजनीतिक संवाद समितिका सभापति भएर संविधानको टुङ्गो लगाएका भट्टराईले भारतको विरोधपछि संविधानको घोषणा सभामा समेत गएका थिएनन् । शनिबारको पत्रकार सम्मेलनमा समेत भट्टराईले नयाँ संविधान जारी गर्न आफ्नो महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्न भने छुटाएनन् । तर आफैले तयार पारेको संविधानको विरोध गर्दै भट्टराईले मधेसी र थारुहरुको माग पूरा गर्न नसकेको उल्लेख गरे । तर उनले मगरात र तमुवान र लिम्बूवानको माग पूरा नभएको कुरा नै गरेनन् ।
भट्टराईलाई जनयुद्धकालदेखि नै भारतीय एजेण्ट भएको आरोप लाग्दै आएको छ । भारतीय रुचिमा काम गरेका भन्दै युद्धकालमै उनलाई जनमुक्ति सेनाले नियन्त्रणमा लिएर कारवाही गरेको थियो । पछि भारतकै दबाबमा कारवाही फुकुवा गरिएको कान्तिपुरका सम्पादक सुधीर शर्माको पुस्तक ‘प्रयोगशाला’ मा समेत उल्लेख छ ।
भट्टराई प्रधानमन्त्री भैसकेपछि त्रिभुवन विमानस्थलको व्यवस्थापन भारतलाई दिने तयारीदेखि विप्पा सम्झौताका कारण उनी भारतीय निर्देशनमै चलेको थप आरोप लाग्यो । यही आरोपसहित एमाओवादीबाट मोहन वैद्यहरु अलग्गिएका थिए ।
यतिवेला समेत भारतको इसारामा काम गरेको आरोप खेपिरहेको भट्टराईले राजिनामा घोषणा सभामा पाँच प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय स्वाधिनताविरुद्ध काम नगर्ने बताए । उनका पाँच प्रतिवद्धतामध्ये राष्ट्रिय स्वाधिनता, स्वाभौमिकता, अखण्डताप्रति प्रतिवद्ध रहने भट्टराइको पहिलो प्रतिवद्धता रहेको छ । त्यस्तै समावेशी र समानुपातिक लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र सदाचारमा रहने उनले प्रतिबद्धता व्यक्त गरे ।











