९ असोज, काठमाडौं । एमाओवादीका मधेसी तथा असन्तुष्ट सांसदलगायतका केन्द्रीय नेताहरुले मधेसको अधिकार कुष्ठित गरी ल्याइएको संविधानलाई पार्टीले समर्थन गरेको भन्दै नयाँ पाटी खोल्ने तयारी गरेका छन् ।

एमाओवादी पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्यसहित सप्तरीदेखि रौतहटसम्मका मधेसी नेता कार्यकर्ताको शुक्रबार जनकपुरमा बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेससँग गद्दारी गरेको निष्कर्ष निकाल्दै मधेसलाई समर्थन गने अगुवा नेताको नेतृत्वमा नयाँ पाटी गठन गर्ने तयारी थालेको हो ।
एमाओवादीभित्रका असन्तुष्ट मधेसी नेताहरुले सकेसम्म डा बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने तयारी गरेका छन् । भट्टराईले नमाने रामचन्द्र झालाई अध्यक्ष बनाएर मधेसी दलको संख्या थप्ने योजना बनाएका छन् ।











