८ असोज, नेपालगंज । नेपालगञ्जबाट धार्मिक समारोहमा सहभागी हुन साउदी अरबको मक्का मदिना गएका एक व्यक्तिको निधन भएको छ । नेपालगञ्ज एक्लैनीका ५४ बर्षिय बरकतुल्ला अन्सारीको साउदी अरबमा निधन भएको हो । मुस्लिम अगुवा मोहम्मद हारुनले अन्सारीको भागदौडकाक्रममा मृत्यु भएको जानकारी प्राप्त भएको बताउनुभयो । बाँकेबाट यसबर्ष हजका लागि करिब १५० जना साउदी अरब पुगेका छन् ।
साउदीमा निधन भएका अन्सारीको त्यही नै धार्मिक विधि अनुसार अन्त्येष्टी गरिने हारुनले बताउनुभयो ।अन्सारीको हजयात्रामा निधन भएपछि शोक मनाउन स्थानीयहरु घरमा जम्मा भएका छन् । नेपालगञ्जबाटा बर्षेनी हजका लागि मानिसहरु साउदी अरब जाने भएपनि यसखालको अप्रिय घटना पहिलो पटक भएको मुस्लिम अगुवाहरुले बताएका छन् । बाँकेमा यो बर्ष हजका लागि १५७ जनाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका थिए ।












