७ असोज, काठमाडौं । नेकपा एमालेले नयाँ संविधानबारे आम जनतालाई जानकारी गराउन जनजागरण अभियान गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा विहीबार बसेको स्थायी कमिटी बैठकले नयाँ संविधान र यसका विशेषताहरुबारे जनतालाई जानकारी गराउनका लागि भन्दै देशभर जनजागरण अभियान सुरु गर्ने निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेस, एकीकृत माओवादी र अन्य दलहरुसँगको सहकार्यमा संयुक्त र पार्टीको तर्फबाट पनि छुट्टै जनजागरण अभियान सञ्चालन गर्ने जनाएको छ । जनजागरण अभियानका क्रममा आमसभा, अन्तरक्रिया र गोष्ठीहरु संचालन गर्ने निर्णय एमालेले गरेको हो । जनजागरण अभियान खासगरी तराई मधेसका जिल्लामा केन्द्रित हुने बताइएको छ ।

जागरण अभियानका लागि गाउँ–गाउँमा जान पार्टी नेता, सांसद र कार्यकर्ताहरुलाई निर्देशन दिइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराइले जानकारी दिए । सांसद तथा जिल्ला तहका नेतालाई संविधान आएको खुशीयालीमा जिल्ला र निर्वाचन क्षेत्रमा चियापान गर्न समेत निर्देशन दिएको छ ।
बैठकले मधेसमा आन्दोलनरत दलहरुले ‘नाकाबन्दी गर्छौं’ भन्नुलाई आफ्नै देश र नागरिकविरुद्धको कदम भन्दै भत्र्सना गरेको छ । बैठकले ‘राष्ट्रियता र राष्ट्रवादको कुरा गर्नेहरुले राष्ट्रलाई नै नाकाबन्दी गर्छौं भन्नु दूर्भाग्यपूर्ण’ भएको ठहर पनि गरेको छ ।
त्यस्तै सार्वभौम मुलुक नेपालको निर्णयलाई स्वीकार गर्न छिमेकी भारत र अन्य दातृ निकायलाई एमालेले आग्रह गरेको छ । कतिपय मुलुकलाई सूचनाको अभाव समेत रहेको भन्दै नयाँ संविधानका विशेषताबारे जानकारी गराउने निर्णय समेत एमालेले गरेको छ ।











