७ असोज, काठमाडौं । राजनीतिक संवाद समितिको सभापति बनेर आफैंले तयार पारेको संविधान जारी भएपछि भारतको त्रासले संविधानकै विरुद्धमा लागेका एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई मधेसी मोर्चाले पार्टी छाडेर आउन आग्रह गरेको छ । भट्टराई शुक्रबार जनकपुर जाने कार्यक्रम रहेकोमा मधेसी मोर्चाका नेतालहरुले एमाओवादी छाडेर आए मात्र आफूहरुले स्वागत गर्ने अन्यथा प्रवेशमा रोक लगाउने चेतावनी दिएको हो ।

भट्टराईले मधेसमा चलिरहेको आन्दोलनलाई समर्थन गर्ने कार्यक्रम रहेको चर्चा चलेपछि मोर्चा विरोधमा उत्रिएको हो। शुक्रबार उनी केही मधेशी नेतासहित जनकपुर आउने कार्यक्रम तय भएको छ।
मोर्चाका प्रवक्ता संजय कुमार सिंहका अनुसार संविधानमा भट्टराईले सही गरेका कारण उनी पनि त्यतिकै दोषी ठहर्याउँदै जनकपुरमा विरोध गर्ने मोर्चाले निर्णय गरेको छ।
भट्टराई पार्टी छोडेर आए मात्रै उनको जनकपुरमा स्वागत हुने सिंहले दाबी गरे। एकातिर मधेशीको अधिकारको विरोध गर्ने पार्टीमा पनि बस्ने र अर्कोतर्फ मधेश आन्दोलनलाई पनि सहयोग गर्ने यस्तो प्रवृतिलाई मोर्चाले स्वीकार नगर्ने उनले बताए।
भट्टराईसँगै रामचन्द्र झा, प्रभु साह र रामकुमार शर्माको पनि जनकपुर आउने कार्यक्रम रहेको छ।
संविधान पारित भएपछि स्वागत सभामा नगएर भारतको मन राखेका नेता भट्टराईले नयाँ शक्ति बनाउने बताउँदै आएका छन् ।











