६ असोज, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमण अन्तिम समयमा रद्द भएको छ । अमेरिका प्रस्थान गर्ने दिनमा आएर कोइरालाले अमेरिका भ्रमणमा नजाने निर्णय गरेका हुन् । कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले प्रधानमन्त्री अमेरिका नजाने निर्णय भएको जानकारी दिएका छन् । संयुक्त राष्ट्र संघको ७०औं महासभामा भागलिन प्रधानमन्त्रीसहित १७ सदस्यीय जम्वो टोली आज साँझ ५ बजे न्युयोर्क जाने कार्यक्रम थियो ।

बालुवाटारमा मंगलबार राति अबेरसम्म चलेको तीन दलका शीर्ष नेताहरुको बैठकमा कोइरालाको न्यूयोर्क भ्रमणबारे छलफल भएको थियो ।
बैठकमा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले कोइरालालाई विदेश नजान प्रस्ताव गरे । ‘सामान्य अवस्थामा संविधान बनेपछि जानु उपयुक्त हुन्छ । तर, देश यथिवेला गम्भीर र संवेदनशील अवस्थामा छ । यस्तो अवस्थामा प्रधानमन्त्री विदेश जानु राम्रो हुँदैन’ बैठकमा श्रेष्ठले भने ।
कुनै पनि बेला वार्ता र सम्वादमा बस्नु पर्नेदेखि निर्णय गर्नु पर्ने भन्दै उनले कोइरालालाई राष्ट्रसंघ महासभामा अरु कसैलाई पठाउन सुझाव दिएका थिए ।
एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डले तत्काल नै श्रेष्ठको प्रस्तावमा समर्थन जनाएका थिए । ओली र प्रचण्डले पनि ठिक हो, प्रधानमन्त्री नजानु राम्रो हुन्छ भनेका थिए । त्यसपछि प्रधानमन्त्रीले वुधबार निर्णय गर्छु भनेका थिए ।











